विदेशी मुद्राको सञ्चिति २१ खर्ब पुग्यो

देशभित्र विदेशी मुद्राको सञ्चिति करिब २१ खर्ब रुपियाँ पुगेको छ । नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार कुल विदेशी मुद्राको सञ्चिति रु २० खर्ब ९२ अर्ब २२ करोड पुगेको हो । यो विवरण गत साउन मसान्तसम्मको हो ।

गत असार मसान्तमा कुल विदेशी मुद्राको सञ्चिति रु २० खर्ब ४१ अर्ब १० करोड बराबर थियो । त्यसमा दुई दशमलव पाँच प्रतिशतले वृद्धि भई रु २० खर्ब ९२ अर्ब २२ करोड बराबर पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १५ अर्ब २७ करोड रहेकामा गत साउन मसान्तसम्म आइपुग्दा दुई प्रतिशतले वृद्धि भई १५ अर्ब ५८ करोड बराबर पुगेको छ ।

विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैङ्कमा रहेको सञ्चिति रु १८ खर्ब ८३ अर्ब ४२ करोड पुगेको छ । बैङ्क तथा वित्तीय संस्थामा रहेको विदेशी मुद्राको सञ्चिति रु दुई खर्ब आठ अर्ब ७९ करोड छ ।

चालु आवको पहिलो महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १६ दशमलव सात महिनाको वस्तु आयात र १३ दशमलव पाँच महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको जनाइएको छ ।

एक खर्ब ३६ अर्ब विप्रेषण भित्रियो
चालु आर्थिक वर्षको पहिलो महिनामा एक खर्ब ३६ अर्ब ९३ करोडको विप्रेषण देशभित्र भित्रिएको छ । बैंकले आज सार्वजनिक गरेको विवरण अनुसार, समीक्षा अवधिमा विप्रेषण आप्रवाह १८ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव आठ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह एक अर्ब दुई करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ३६ हजार नौ सय २८ र पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या २२ हजार छ सय ४७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३९ हजार एक सय ५२ र १६ हजार चार सय २३ थियो ।

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) एक खर्ब ४८ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु एक खर्ब २८ अर्ब २१ करोड थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार