चाडपर्वलक्षित नेपाल प्रहरीको सुरक्षा योजना: ४ हजार प्रहरी परिचालन, घटना भएको ५ मिनेटमै पुग्ने (भिडियो)

नेपाल प्रहरीले नेपालीहरुको महान पर्व दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सुरक्षा योजना सार्वजनिक गरेको छ । शुक्रबार नेपाल प्रहरीले पत्रकार सम्मेलनको आयोजना गर्दै यस पटकको चाडपर्वमा खसि बजारदेखि टिकट काउन्टरसम्म सुरक्षा दिने योजना सार्वजनिक गरेको छ ।

चाडपर्वमा एटिएम बुथ, गहना पसल, बस टिकट काउन्टर, खसी बजार, शक्ति पीठहरू, बसपार्क र बस पकेटलाई सुरक्षा गर्ने गरी सुरक्षा योजना लागू गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले जानकारी दिए ।

त्यस्तै प्रहरीले चाडपर्वको बेलामा तत्काल घटनास्थलमा पुग्नको लागि ७६ वटा मोटरसाइकल तयारी अवस्थामा राख्ने भएको छ । आवश्यक सामाग्रीसहित ती मोटरसाइकलहरु तयारी हालतमा राखिने प्रहरीले जनाएको छ ।

दसैँ, तिहार र छठ पर्वको सुरक्षामा ३ हजार ७६५ जना प्रहरी परिचालन गर्ने योजना रहेको एसएसपी रजौरेले बताए । ‘काठमाडौँको सुरक्षा व्यवस्था चुस्त छ, कुनै पनि घटना भएको ५ मिनेटमा प्रहरी पुग्ने र ३० मिनेटमा सबै व्यवस्थापन गर्ने गरी योजना बनाइएको छ’, उनले भने ।

काठमाडौँ जिल्लालाई १४ वटा एरियामा विभाजन गरेर डीएसपीको कमान्डमा १० जनाको टिम परिचालन गर्ने गरी सुरक्षा योजना सार्वजनिक गरेको छ । चाडपर्व सुरक्षाका लागि ३ दिनको लङ रुट पट्रोल र १ दिने सर्ट रुट पट्रोल गरिने एसपी नवराज अधिकारीले जानकारी दिए ।

यस्तै प्रहरीले चाडपर्वमा हुनसक्ने विभिन्न अपराधहरुलाई वर्गीकरण गरेर सुरक्षा योजना बनाएको छ ।

प्रहरीले हुनसक्ने सम्भावित अपराधहरुमा लुटपाट तथा कुटपिट, चोरी तथा स्न्याचिङ, डकैती, सवारी दुर्घटना, तस्करी, जुवातास, अवैध मदिरा बिक्री वितरण, मदिरा सेवन गरी झैझगडा, ट्राफिक नियम उल्लंघन, आगजनी तथा बिस्फोटन, ड्रिंक एन्ड ड्राइभ, हिट एण्ड रन, चिट्ठाको प्रलोभनमा ठगी, कृत्रिम अभाव तथा कालोबजारी, नाका स्टेशनमा बाहिरिनेको चापमा हुने अवैध धन्दा, महँगो भाडा असुली, मदिराका कारण हुने अपराध, धार्मिक तथा किनमेल स्थलमा हुने पाकेटमारी र बन्द पसल तथा खाली घरहरुमा हुने चोरीलाई प्रहरीले सम्भावित अपराध मानेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार