बारको आन्दोलन बेवास्ता गर्दै सर्वोच्चमा दुई न्यायाधीश सिफारिस

न्याय परिषद्ले सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस गरेको छ । शुक्रबार बसेको बैठकले विवादकै बीच न्यायाधीश सिफारिस गर्ने निर्णय गरेको हो ।

उच्च अदालतका मुख्य न्यायाधीशहरूबाट दुई जना सिफारिस भएको स्रोतले बतायो । सर्वोच्चमा ६ जना न्यायाधीश नियुक्त गर्ने भनिए पनि विवादका कारण सबै संख्यामा पदपूर्ति हुन सकेन ।

स्रोतका अनुसार मुख्य न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्बोच्चको न्यायाधीशमा सिफारिस गरिएको छ । सर्वोच्चको न्यायाधीशमा सिफारिस भएको पाण्डे गृहमन्त्री रमेश लेखकका साडु भाई हुन् । उनी उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश थिए ।

नेपाल बार एशोसिएशनले न्याय परिषद् नियमावलीको संशोधन गैर संवैधानिक रहेको भन्दै उक्त संशोधन खारेज नगरी न्यायाधीश नियुक्ति प्रक्रिया अगाडि नबढाउन दबाब दिँदै आएको थियो । न्याय परिषद्को बैठक जारी रहेको अवस्थामा बारले विरुद्धमा प्रदर्शन गरेपनि अन्ततः न्यायाधीश नियुक्तिको सिफारिस भएको हो ।

हाल उच्चमा १६ जना र सर्वोच्च अदालतमा ६ जना न्यायाधीश रिक्त छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार