सहकारी ठगीका आरोपी ढोरपाटनका मेयर देवकुमार भारतमा पक्राउ, नेपाल ल्याउने तयारी

सहकारीको बचत ठगी आरोप लागेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ परेका छन् । उनी शुक्रबार भारतमा पक्राउ परेका हुन् ।

इन्टरपोलमा रेड नोटिस जारी भएका उनलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय प्रहरीले पक्राउ गरेको भन्दै नेपाल प्रहरीलाई जानकारी गराएको छ ।

नेपाल प्रहरीका एक उच्च अधिकारीले भने, ‘भारतस्थित नेपाली दूतावासबाट समन्वय गरेर उनलाई नेपाल ल्याउने प्रक्रिया थालेका छौं ।’

मेयर नेपाली पोखरा र बागलुङमा रहेका इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पनि हुन् ।

मेयर नेपालीमाथि दुई अर्ब बढी बचत रकम ठगीको आरोप छ । उनी गत वर्ष जेठ देखि नै फरार थिए । ढोरपाटन(१ घर भएका मेयर नेपालीसहित ११ जना सञ्चालकविरूद्ध गत वर्ष असार २५ गते बागलुङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । तर उनी फरार रहँदै आएका थिए ।

उनी लामो समयसम्म फरार रहेपछि १२ माघ ०८० मा रेडकर्नर नोटिस समेत जारी गरिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार