पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा शुक्रबार दिउँसो टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
हरिवन नगरपालिका–११, बासाटोलस्थित चिनीमिल अगाडि भएको दुर्घटनामा मोटरसाइकल चालक हरिवन–७, घर भएका ४२ वर्षीय दीपक अधिकारीको घटनास्थलमै मृत्यु भएको हो ।
बागमती प्रदेश ०२–०३७ प ४४०१ नम्बरको मोटरसाइकलमा सवार अधिकारीलाई शुक्रबार दिउँसो ३ बजेतिर हरिवनबाट नवलपुरतर्फ आइरहेको प्रदेश २–०३–००१ क ११३७ नम्बरको टिप्परले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
मोटरसाइकललाई ठक्कर दिने टिप्पर र त्यसका चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । मृतकको शव नमूना अस्पताल हरिवनमा राखिएको छ ।
मृतकको परिवारसँग समन्वय गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए ।