बहराइनसँग नेपालको फराकिलो हार

एएफसी यू–२० एसियन कप छनोटको आफ्नो अन्तिम खेलमा नेपाल बहराइनसँग ४–० ले पराजित भएको छ । शुक्रबार चाइनिज ताइपेईमा भएको खेलमा बहराइनलाई जित दिलाउन समी बसम अवादीले दुई गोल गर्दा खलिद अल्खलाफ र अलि अहमेद हसनले समान एक गोल थपे । 

खेलको २३औँ मिनेटमा अवादीको गोलमा बहराइनले अग्रता बनाएको थियो । पहिलो हाफको इन्जुरी समयमा अल्खलाफले बहराइनको अग्रता दोब्बर बनाए । ७३औँ मिनेटमा अवादीले व्यक्तिगत दोस्रो गोल गर्दा बहराइनले अग्रतालाई ३–० मा पुर्याएको थियो । यस्तै ८४औँ मिनेटमा हसनले गोल गरेपछि बहराइनले ४–० को जित पक्का गरेको हो । 

यो हारसँगै नेपालको यू–२० एसियन कपमा छनोट हुने सम्भावना समाप्त भएको छ । नेपालले प्रतियोगिताका तीन खेलमध्ये दुईमा हार र एक खेलमा जित निकालेको हो । 

तालिकाको शीर्ष स्थानमा रहने टोलीले सोझै चीनमा हुने प्रतियोगितामा स्थान बनाउनेछ । छनोट प्रतियोगितमा रहेका १० समूहका उत्कृष्ट पाँच उपविजेता टोलीले पनि एसियन कपमा स्थान बनाउनेछन् । 

समूह ‘बी’ मा तीन खेल खेलिसकेको कम्बोडिया ६ अंकका साथ दोस्रो स्थानमा छ । घरेलु टोली चाइनिज ताइपेले दुई खेल खेल्दा एक अंक पनि जोड्न सकेको छैन । कम्बोडिया र उज्वेकिस्तानले अब तुलनात्मक रुपमा कमजोर चाइनिज ताइपेसँग खेल्न बाँकी छ । त्यसैले यस समूहमा कम्बोडिया र उज्वेकिस्तान फाइनल चरण पुग्ने प्रबल दावेदार टोली हुन् । बहराइनले भने आफ्नो अन्तिम खेलमा बलियो उज्वेकिस्तानसँग खेल्ने तालिका छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार