६० किलो सुन तस्करी प्रकरण : ७ जनालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले करिब ६० किलोग्राम सुन तस्करी प्रकरणमा जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनबाट पुर्पक्षका लागि थुनामा पठाइएका ७ प्रतिवादीलाई धरौटीमा रिहा गर्ने आदेश गरेको छ ।    सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश गरेको हो ।

सर्वोच्चले कुमार ढकाल, सन्तोष चन्द, रामकुमार भुजेल, सरोज श्रेष्ठ, राजेन्द्रकुमार राई, किशोर बस्नेत र शिवकुमार सर्राफको निवेदनमा अन्तिम निर्णय सुनाएर थुनामा पठाउने निर्णय बदर गर्दै धरौटी माग गरेको हो । त्यस्तै सर्वोच्चले टाँसी भन्ने थुप्तेन छिरिङ, हर्कराज राई, दिलीप भुजेल र सुमन खरेलको हकमा पुर्पक्षका लागि थुनामा राख्ने निर्णय सदर गरेको छ।  

६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २०८० असोज १ गते मुद्दा दायर गरेको थियो ।

चिनियाँ मूलका नागरिक दावाजिन वाङलाई मुख्य अभियुक्त बनाइएको मुद्दामा २९ जनालाई विपक्षी बनाइएको थियो । उनीहरूविरुद्ध संगठित अपराधसहित पाँचवटा अभियोग लगाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार