परम्परागत बाली जौ र उवा उत्पादन तथा ‘ब्राण्डिङ’ परियोजनाको सुरुवात

म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका–५ झिँमामा परम्परागत बाली जौ र उवा उत्पादन तथा ‘ब्राण्डिङ’ परियोजना सुरुवात भएको छ ।

गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नवप्रवर्द्धन साझेदारी कार्यक्रमअन्तर्गत झिँमा परम्परागत जौ र उवा बालीको व्यावसायिक खेतीको विकास र किसानको आयआर्जन वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले परियोजना लागू भएको हो ।

प्रदेश सरकारको ७५ प्रतिशत र गाउँपालिकाको २५ प्रतिशत साझेदारीमा एक करोड लागतको परियोजना सुरु भएको रघुगङ्गा गाउँपालिका–५ का वडाध्यक्ष मनबहादुर शेरमञ्जाले जानकारी दिए ।

परियोजनामार्फत झिँका दुई सय परिवार लाभान्वित हुनेछन् । तीन सय रोपनी क्षेत्रफल जमिनमा जौ र उवाखेती गरिने भएको छ । परियोजनामार्फत जौ र उवा प्रशोधन गरेर कुकिज र बिस्कुट उत्पादन गर्ने उद्योग सञ्चालन गर्ने लक्ष्य रहेको गाउँपालिकाका कृषि अधिकृत दीपक सिंहले बताए ।

किसानलाई सूचीकरण गरी परम्परागत जौ र उवा बालीको महत्वबारे जानकारी गराउने, मिनीटेलर हलो, साना सिँचाइ, कम्बाइन मिल, ब्रस कटर, थ्रेसिङ मेसिन, सुकाउने त्रिपाल, भण्डारण गर्ने मेटलबिन, कुकिज, बिस्कुट बनाउन र पिठोलाई ब्राण्डिङ, प्याकेजिङ गर्न आवश्यक सामग्री उपलब्ध गराइने उनले बताए ।

झिँका होटल र होमस्टेमा जौ र उवाको परिकार बनाउने सीप हस्तान्तरणका लागि तालिम सञ्चालन गर्ने कार्यक्रम बनाइएको छ । जौ र उवाको पिठोलाई ढिडो र सातुका रूपमा बिक्री गर्ने लक्ष्य रहेको छ । पोषिलो खाद्यान्न जौ र उवाको पछिल्लो समय खेती घटेको छ । आगामी २०८२ जेठभित्र परियोजना सञ्चालन हुनेछ ।

जौँ हिन्दू धर्मावलम्बीहरूको र जौको सातु बौद्ध धर्मावलम्बीहरूको धार्मिककार्यमा अनिवार्य मानिन्छ । जौको आँटो, पिठोको ढिडो र सातु बनाएर उपभोग गर्न सकिन्छ । उवालाई भुटेर खाजा खाने गरिन्छ । सुक्खा र खडेरी सहने जौ पहाडी र हिमाली क्षेत्रको मुख्य खाद्यबाली हो ।

युरोपका देशमा जौबाट रोटी, पाउरोटी, बियरलगायत बनाउने बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार