बुधबारबाट पुनः वर्षाको सम्भावना

आगामी बुधबारदेखि पुनः वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विभागका अनुसार बुधबार कोशी प्रदेशका केही स्थानहरू तथा मधेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी प्रदेशका एक/दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।

त्रिभुवन विश्वविद्यालयका मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले बुधबारदेखि शनिबारसम्मै गण्डकीदेखि कोशी प्रदेशसम्म अपराह्नपख वर्षाको सम्भावना रहेको जनाएका छन् । उनका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका जिल्लामा भने वर्षाको खासै सम्भावना छैन ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनी वायुको प्रभाव कायमै रहेका बेला बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुसमेत मिसिँदा असोज ११ र १२ गते भारी वर्षाले जनधनको ठूलो क्षति गरेको छ ।

बंगालको खाडीमा विकास भएको न्यूनचापीय प्रणाली नेपालतिर सर्दा बिहीबारदेखि शनिबार साँझसम्म लुम्बिनी प्रदेशसम्म भारी वर्षा भएको थियो ।

मौसमविद्हरूले मनसुनी वायु, बंगालको खाडीमा विकास भएको न्यूनचापीय प्रणाली र अरब सागरसमेतबाट आएको उच्च जलवाष्ययुक्त हावा मिसिँदा नेपालमा घनघोर वर्षा भएको बताएका थिए । काठमाडौं उपत्यकाका ११ स्थानसहित देशभर २५ ठाउँमा वर्षाले यसअघिका रेकर्ड ब्रेक गरेको थियो ।

यस वर्ष मनसुन लम्बिने देखिएको छ । नेपालबाट असोज १६ (अक्टोबर २) मा मनसुन बाहिरिनुपर्नेमा केही दिन लम्बिने संकेत देखिएको वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताइन् । उनकाअनुसार मनसुन लम्बिने संकेत देखिइसकेकाले दसैंमा पनि पानी पर्ने सम्भावाना छ ।

यस वर्षको मनसुनयाममा औसतभन्दा बढी वर्षा भइसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार