प्रमुख जिल्ला अधिकारीपछि धादिङका प्रहरी प्रमुख पनि हेडक्वाटर तानिए

प्रहरी प्रधान कार्यालयले धादिङ जिल्लाका एसपी गौतम केसीलाई हेडक्वाटर तानेको छ । केसीको सट्टा दीपेन्द्र शाहीलाई धादिङ प्रहरी प्रमुख बनाएर पठाइएको छ ।

बाढी पहिरोको विपत्तिको जोखिमको बेला काम सन्तोजनक नभएको भन्दै प्रहरी हेडक्वाटरले धादिङका प्रहरी प्रमुख हेरफेर गरेको हो ।

यसअघि गृहले धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीको पनि सरूवा गरेको छ । धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईको सरूवा गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

उनीहरूलाई गृह मन्त्रालयमै काम गर्ने गरी सरूवा गरिएको तिवारीले जानकारी दिए । मन्त्रालयले धादिङमा पाण्डेको ठाउँमा सुमन घिमिरे र काभ्रेमा सेडाईको ठाउँमा उमेश ढकाललाई पठाएको छ ।

प्रवक्ता तिवारीले दुवै प्रमुख जिल्ला अधिकारीको नियमित सरुवा भएको दाबी गरेका छन् । असोज १० गतेदेखि परेको अविरल वर्षापछि काभ्रे र धादिङमा पनि जनधनको क्षति भएको थियो ।

मनसुन सक्रिय भएसँगै जोखिमको पूर्वसूचना हुँदाहुँदै सवारी साधन सन्चालनमा प्रशासनले रोक नलगाउँदा धेरै क्षति भएको गृहमन्त्रालयको निष्कर्ष छ ।

नेपाल प्रहरीका अनुसार आइतबार साँझसम्म नौबिसे-नागढुंगा सडक खण्डको झ्याप्ले खोलानेर पहिरोले सवारी साधनसहित पुर्दा ३५ जनाको मृत्यु भइसकेको छ । काभ्रेमा ५० जनाको मृत्यु भएको नेपाल प्रहरीको तथ्यांक छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार