पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका तीनजना विद्यार्थीको शव हेटौंडा ल्याइयो

गत शनिबार पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका ६ जना विद्यार्थीमध्ये ३ जनाको शव हेटौंडा ल्याइएको छ ।सोमबार बिहान हेलिकोप्टरबाट मकवानपुरका साइमन योन्जन, अनुप घलान र बाराका विकल रेग्मीको शव हेटौंडा ल्याइएको हो ।

हेटौंडा ल्याइएको तीनाजनाको शव जिल्ला खेलकुद समिति मकवानपुरले नगर परिक्रमा गराएर हेटौंडा उपमहानगरपालिका-४ मा रहेको हुप्रा चौरमा श्रद्धाञ्जली कार्यक्रम गरेको छ । श्रद्धाञ्जली सभामा प्रदेश सरकारका मन्त्रीहरू, खेलाडीहरू, विभिन्न राजनीतिक दलका नेताहरूलगायत सर्वसाधारणहरूको उपस्थिति रहेको छ ।

होस्टेलमा बसेर मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ टेकरस्थित वत्सला माध्यमिक विद्यालयमा अध्ययन गर्ने र एन्फा क्याम्पमा फुटबल प्रशिक्षण लिने ४० जना विद्यार्थीमध्ये हेटौँडाका घलान, योञ्जन, बाराको निजगढका रेग्मी, सिस्नेरीका दिवस बानियाँ, काठमाडौँका रियान्स आचार्य र सर्लाहीका आदित्य बलमपाकीको पहिरोमा परी शनिबार मृत्यु भएको थियो ।

गत बिहीबारदेखि अविरल परेको वर्षाका कारण सिस्नेरी खोलामा बाढी आएपछि विद्यार्थीहरू सुरक्षित स्थानतर्फ जाने क्रममा माथिबाट आएको पहिरोमा पुरिँदा ६ जना विद्यार्थीको मृत्यु भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार