उमेर हदको विषयमा विवाद हुँदा अखिल क्रान्तिकारीको सम्मेलनमा तोडफोड

नेकपा माओवादी केन्द्र निकट भातृ संगठन अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनमा लफडा भएको छ ।

काठमाडौँको कीर्तिपुरमा गत असोज १० गतेदेखि सुरु भएको सम्मेलनमा सोमबार उमेर हद कायम गर्न नहुने माग गर्दै एक समूहले तोडफोड गरेको छ ।

अध्यक्षका आकांक्षी तुकमान महरा नेतृत्वमा सम्मेलन हल तोडफोड गरिएको महाधिवेशनमा सहभागी एक प्रतिनिधिले जानकारी दिए । तोडफोडमा उत्रने महरा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पूर्वस्वकीय सचिव जोखबहादुर महराका छोरा हुन् । जोखबहादुर लुम्बिनीका पूर्वमुख्यमन्त्री पनि हुन् ।

सम्मेलनमा उमेर हदका पक्ष/विपक्षमा प्रतिनिधि देखिएका थिए । उमेर हद राख्नुपर्ने धारणाहरू प्रतिनिधिहरुबाट आएपछि मतदानबाट टुंगो लगाउने तयारी गरिएको थियो । त्यसको विरुद्धमा महरा पक्षका प्रतिनिधिहरु देखिएका हुन् । ‘अध्यक्षमा दाबी गरेका तुकमानले एउटा समूह ल्याएर सम्मेलन हल तोडफोड गरे,’ प्रतिनिधिले भने, ‘प्रहरी आएपछि भने सम्मेलन केन्द्र शान्त भएको छ ।’

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यार्थी नेताहरूलाई खुमलटार बोलाएर उमेरहदको विकल्पमा मतदानबाट निर्णय गर्न निर्देशन दिएका थिए । क्रान्तिकारीको नेतृत्वको लागि उमेरहद लागू गर्ने कि नगर्ने भन्ने विषयमा पदाधिकारीबीच निर्वाचन गर्न प्रचण्डको निर्देशन थियो ।

ती प्रतिनिधिका अनुसार, दुई पक्षबीचको झडपका कारण अहिले सम्मेलनस्थलको अवस्था तनावपूर्ण बनेको छ ।

अखिल क्रान्तिकारीको सम्मेलन वर्षा र बाढीपहिरोले मुलुक आक्रान्त भएपछि केही दिनको लागि स्थगित भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार