माओवादीले बनायो केन्द्रीय राहत कोष, सांसदले १० दिनको पारिश्रमिक दिने

नेकपा (माओवादी केन्द्र)ले बाढीपहिरोपीडितका लागि केन्द्रीय राहत कोष स्थापना गरेको छ । आइतबार बसेको पदाधिकारी बैठकको निर्णयअनुसार राहतकोष स्थापना गरेर माओवादी केन्द्रले मातहतका कमिटीहरूलाई राहत जम्मा गर्न परिपत्र पनि गरिसकेको छ ।

राहत कोषमा संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यहरूले १०–१० दिनको पारिश्रमिक जम्मा गर्नेछन् भने स्थानीय तहका जनप्रतिनिधिहरूलाई स्वैच्छिक सहयोग गर्न माओवादी केन्द्रले परिपत्र गरेको छ ।

त्यस्तै, पार्टीका प्रदेश समितिहरूले पनि राहत रकम संकलन गरी केन्द्रीय राहत कोषमा रकम जम्मा गर्ने व्यवस्था मिलाइएको माओवादी केन्द्रले जनाएको छ । पदाधिकारी बैठकको निर्णयअनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको विपद् व्यवस्थापन विभागले हेल्प डेस्क स्थापना गरेर दैनिक विपद्को स्थिति अद्यावधिक गर्ने व्यवस्था मिलाइएको छ ।

विपद्को सामना गर्न पार्टीपंक्ति, जबस र मोर्चाहरूलाई त्यस क्षेत्रमा स्वयंसेवक खटाउन, खोज, उद्धार, राहत र पुनर्स्थापनामा जुट्न पनि माओवादी केन्द्रले माताहतका कमिटीलाई परिपत्र गरिसकेको जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को नाममा रहेको ग्लोबल आइएमई बैंक कोटेश्वर शाखामा रहेको ३६०१०१०००००४५ नम्बरको खातामा रकम जम्मा गर्न सकिने जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार