क्यानले नेपाल प्रिमियर लिगको कमर्सियल अधिकार ५ करोड ९२ लाखमा बेच्यो 

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको पहिलो संस्करणको नेपाल प्रिमयर लिग (एनपिएल) को कमर्सियल अधिकार ब्रान्ड डिजिटल लजिक प्रा. लि. ले प्राप्त गरेको छ ।

क्यानले बोलकबोल मार्फत ५ करोड ९२ लाख रुपैयाँमा लजिकलाई उक्त अधिकार ब्रिकी गरेको हो ।

अब कम्पनीले खेलको प्रचार प्रसार व्यवस्थापनदेखि आर्थिक पक्षलाई थप मजबुत बनाउने जिम्मेवारी लिनेछ । सम्झौतामा लिगको ब्रान्डिङ, मार्केटिङ, प्रसारण अधिकार, प्रायोजन व्यवस्थापन र ग्राउन्ड ब्रान्डिङको अधिकार समावेश गरिएको छ ।

तर एनपिएलको टिकेटिङमा भने उसलाई अधिकार छैन । टिकट क्यान आफैँले बेच्ने क्यानका प्रवक्ता छुम्बी लामाले बताए ।

यता एनपिएलका लागि क्यानले ट्वान्टी फर्स्ट सेन्चुरी मिडिया स्पोर्ट्सलाई आधिकारिक इभेन्ट रणनीतिक र मार्केटिङ कन्सल्ट्यान्ट नियुक्त गरेको छ । क्यानले दुबईमा कार्यालय भएको भारतीय कम्पनी ट्वान्टी फर्स्टलाई कन्सल्ट्यान्ट रूपमा पैसा तिर्नेछ ।

यसअघि विभिन्न क्रिकेट प्रतियोगितामा समेत काम गरेको ट्वान्टी फर्स्टले अब एनपिएलको इभेन्ट म्यानेजमेन्ट, खेलको प्रोडक्सन, खेलको प्रशारण र खेल प्रोमोसनका काम गर्नेछ । क्यानका प्रवक्ता लामाका अनुसार कम्पनीको मुख्य काम एनपिएलको ुहाइपु बढाउने हुनेछ ।

आगामी मंसिर १६ देखि पुस ६ सम्म हुने एनपिएलमा ८ टोलीबीच प्रतिस्पर्धा हुँदैछ । लिगमा विराटनगर, जनकपुर, काठमाडौं, चितवन, लुम्बिनी, पोखरा, कर्णाली र सुदूरपश्चिमले भाग लिँदैछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार