सर्वोच्चको न्यायाधीशमा सिफारिस निरौला र पाण्डेयविरुद्ध उजुरी आह्वान

संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस नृपध्वज निरौला र नित्यानन्द पाण्डेका सम्बन्धमा सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको छ । सोमबार बसेको समितिको बैठकले निरौला र पाण्डेविरुद्ध उजुरी आव्हान गर्ने निर्णय गरेको हो ।

शुक्रबार बसेको न्याय परिषद्ले सर्वोच्च अदालतमा दुई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत, तुल्सीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई शुक्रबार सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस गरेको हो ।

संसदीय सुनुवाइपछि उनीहरूलाई राष्ट्रपतिले नियुक्त गर्नेछन् । सर्वोच्चमा ६ न्यायाधीश नियुक्त गर्नुपर्ने भए पनि अन्य नाममा सहमति नजुट्दा २ जनाको मात्र सिफारिस भएको थियो । निरौला सर्वोच्च अदालतको मुख्य रजिस्ट्रार छँदा उच्च अदालतको मुख्य न्यायाधीश नियुक्त भएका थिए । तर पछिल्लो समय उनीभन्दा वरीयतामा पछाडि भएकाहरूलाई सर्वोच्चको न्यायाधीश बनाएर उनलाई छाडिएको थियो ।

नित्यानन्द सुदूरपश्चिमबाट कांग्रेस कोटामा वकिलबाट उच्चको न्यायाधीश भएका थिए । उनी गृहमन्त्री रमेश लेखकका साँढुभाई हुन् । कांग्रेसका नेताहरुको दबाबकै कारण पाण्डे भन्दा वरियतामा अघिरहेका अन्यलाई पन्छाइएको छ । उच्च अदालतको न्यायाधीशको वरीयतामा न्यायाधीश निरौला एक नम्बर र पाण्डे पाँचौं नम्बर वरीयतामा थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार