कोशी र बागमतीमा दुई दिन भारी वर्षाको सम्भावना

यसपालि दसैँमा मौसम सफा नरहने अर्थात् मनसुन (पानी पार्ने प्रणाली) नहट्ने सम्भावना बढेको छ ।

मौसमविद्का अनुसार नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ तारिख हो । जुन मिति भोलि (बुधबार) हो । तर आगामी ३ दिनसम्म मनसुन बाहिरिने कुनै संकेत नदेखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारी बताउँछन् ।

उनका अनुसार कोशी र बागमती प्रदेशमा बुधबार र बिहीबार (भोलि र पर्सी) भारी वर्षाको सम्भावना रहेको छ । विशेष गरी कोशी, मधेश, गण्डकी र बागमती प्रदेशमा हल्कादेखि मध्यम खालको वर्षा हुनसक्ने सम्भावना रहेको बताउँदै उनले रातको समयमा अत्यावश्यकबाहेक यात्रा नगर्न सुझाव दिए ।

भारी वर्षा भएता पनि केही घण्टा मै पानी रोकिने अधिकारीको भनाई छ । ‘नेपालबाट मनसुन बाहिरिसकेको अवस्था छैन । मनसुनको अन्त्य–अन्त्य हुन खोजिरहेको छ । अझै पनि केही दिनलाई विशेष गरी कोशी प्रदेश, मधेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा हल्कादेखि मध्यम खालको वर्षा हुनसक्ने सम्भावना छ । भारी वर्षा कोशी प्रदेश र बागमती प्रदेश बढी केन्द्रीत हुनसक्छ । त्यो लामो समयसम्म जाँदैन । एक दुई घण्टा हो,’ उनले भने ।

उनका अनुसार दसैँ आउँदासम्म पश्चिम नेपाल (गण्डकीदेखि पश्चिमतर्फका प्रदेश) मा मौसम केही सफा हुने सम्भावना देखिए पनि मध्य र पूर्वी नेपाल अर्थात् गण्डकीदेखि पूर्व कोशी प्रदेशसम्म वर्षा जारी रहने सम्भावना छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार