नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने सडक आज राती बन्द हुने

नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने सडक आज राति १० बजेदेखि भोलि (बुधबार)बिहान ५ बजेसम्मका लागि बन्द हुने भएको छ ।

हिजो दिउँसो ४ बजेदेखि अवरुद्ध रहेको सडक आज बिहान १० बजेदेखि सञ्चालनमा आएको छ । बिहान ९ बजेदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको सडक अहिले भने दुईतर्फीरूपमा सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिइन् ।

अहिले सडकलाई सामान्य मर्मत गरेर दुईतर्फी सञ्चालनमा ल्याइएको छ । सडक व्यवस्थित रुपमा मर्मत गर्नुपर्ने भएकाले रातीको समयमा सवारी साधन रोकेर काम गर्न लागिएको प्रजिअ श्रेष्ठले जानकारी दिइन् । रातको समयमा बन्द हुने सडकमा भने अत्यावश्यक सवारी साधन भने सञ्चालन हुने जिल्ला प्रशासनले निकालेको सूचनामा जनाइएको छ ।

नवलपरासीको दाउन्ने पहाडस्थित खुर्सानी खोलामा सडकको पर्खाल भत्किएर विद्युतको हाइटेन्सन टावर ढलेपछि राजमार्ग अवरुद्ध बनेको थियो । सडक ४ मिटर भासिएको छ । अहिले सडकको भित्तालाई फोडेर काम भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार