पार्टीको काम रोकेर राहत र उद्धारमा परिचालित हुन एमालेको निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नियमित काम रोकेर राहत र उद्धारमा पार्टीका नेतालाई खटिन निर्देशन दिएका छन् । मंगलबार बसेको एमाले सचिवालय बैठकपछि महासचिव शंकर पोखरेलले पार्टीको नियमित काम रोकेर राहत र उद्धारमा परिचालित हुन नेता(कार्यकर्तालाई निर्देशन दिएको जानकारी दिए ।

महासचिव पोखरेलले लाइफ लाइनका रुपमा रहेका सडकहरु सञ्चालन गर्न पहिलो प्राथमिकता दिन सरकारलाई सुझाव दिएको बताए । ‘बाढी तथा पहिरोमा परेर मृत्यु भाकाहरूको परिवार र घाइतेहरूको अभिभावकको रुपमा राज्य प्रस्तुत हुनुपर्छ’ उनले भने, ‘ राजधानी जोड्ने लाइफ लाइनका सडक अवरुद्ध छन्, चाडपर्व नजिकिएको छ, अधिकांश ठाउँमा पुल बगाएको छ, लामो गन्तव्यमा यात्रु पुग्नुपर्ने छ । यसमा सरकारको विशेष जोड हुनुपर्दछ ।’

बैठकमा प्रधानमन्त्री ओलीले वर्षापछिको बाढीपहिरो र डुबानपछि उद्धार, बेपत्ताको खोजी, पीडितलाई राहत दिने र अवरुद्ध सडक सञ्चालन गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको जानकारी गराए ।

उनले एमालेले राहत तथा उद्धार कोषमा ५० लाख उपलब्ध गराउने जानकारी दिए। यसैगरी प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरुलाई समेत राहत कोषमा सहयोग गर्न अनुरोध गर्ने निर्णय गरेको पोखरेलले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार