विपद्पछि खानेपानीको पर्खाइमा उपभोक्ता

ललितपुर जिल्लाको गोदावारी नगरपालिका–१० को चापागाउँको राधा घिमिरेका लागि अत्यासलाग्दो विपद् टरे पनि खानेपानी धारामा नआउँदाको पीडाले सताएको छ । उनी भन्छिन्, “विपदबाट त जोगियो, तर चार दिनदेखि धारामा पानी आएको छैन । कसरी गुजारा चलाउने ?” धारामा पानी आइहाल्छ कि भनेर आधा रातमै उठेर हेर्नुहुन्छ, पानी नआएपछि निरास छिन् उनी । ट्याङ्कीमा जम्मा भएको पानी पनि सकियो । “कहिलेसम्म नआउने हो ? तनावै गरायो,” उनले भनिन् ।

गोदावारी–१० प्याङ्गाउँकै रीता अर्याललाई पनि धारामा पानी नआउँदाको छटपटी उस्तै छ । पानी आउला कि भन्ने आशामा बसेको चार दिन बितिसक्यो । “खानेपानी नहुँदा गुजारा टार्नै गाह्रो हुने भयो, विपद् पीडितहरुको हालत अझै कस्तो होला ?” अर्याल भन्छिन् । खुमुलटार बस्ने मनमाया गुरुङ उमेरले ७० पुग्नै लागिन् । छोराबुहारी विदेश छन् । श्रीमान् पनि ७५ वर्ष टेके । बुढ्यौली शरीर । घरमा पानी छैन । बोकेर ल्याउन पनि सक्दिनन् । “जारकै पानीले गुजारा चलाएका छौँ, जारको पानी चलाएर कहिलेसम्म पुग्छ र ?”, उनले भनिन् ।

हालैको वर्षामा गोटीखेल बाढी, पहिरोका कारण तहसनहस बनेको छ यतिबेला । हराभरा क्षेत्र एक्कासि बगरमा परिणत भयो । यसले गर्दा खानेपानीको स्रोत पनि पुरिएको र समस्या उत्पन्न भएको बताउँछन् महाङ्ककाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक बिष्ट । “यहाँ हिजोसम्म टेलिफोन सम्पर्क नै भएको थिएन, खानेपानीको पनि उस्तै समस्या छ, न त कतै गएर पानी ल्याउन सक्ने सम्भावना छ, बाटो पनि छैन,” उनले भने, “विशेषगरी पहिरोले खानेपानीको स्रोत पुरिँदा चन्दनपुर, मानीखेल, टण्डनपुरवासीलाई समस्या भएको छ ।”

रामेछाप घर भई हाल जडीबुटी बस्दै आएकी प्रभा श्रेष्ठको धारामा पानी त आएको छ । तर धमिलो छ । “पानी धमिलो छ, छुन समेत घिन लाग्छ कसरी खानु ? पिउनका लागि जारकै पानी प्रयोग गरे पनि कपडा धुन, भाँडा सफा गर्न, नुहाउन पानीको समस्या छ”, उनले भनिन् ।

काठमाडौँ थापाथलीस्थित सुकुम्वासी टोलमा बस्ने बलबहादुर मोक्ताङको कहानी पनि उस्तै छ । पिउनसम्म त जारको पानी नै प्रयोग गर्छन् तर सबै प्रयोजनका लागि जारको पानी प्रयोग गर्न गाह्रो भएपछि उनी धमिलै भए पनि बागमती नदीको पानी प्रयोग गर्छन् । “खानका लागि जारको पानी प्रयोग गरेका छौँ तर लुगा धुन, भाँडा सफा गर्नलगायतका अन्य प्रयोजनका लागि बागमतीको पानी ल्याएर गुजारा गरेका छौँ,” उनले भने ।

उनीहरु त केही प्रतिनिधि पात्र मात्रै हुन् । बाढी, पहिरोजस्ता विपद्ले थपिएको पीडा त छँदैछ । त्यसमाथि खानेपानी नपाउँदा जीवन गुजारा गर्न धौधौ हुने यस्ता थुप्रै पात्र छन् । पानीको मुहान पुरिएको छ । पाइपलाइन क्षतविक्षत भएको छ । कतै मूल खोज्दै जाने बाटोसमेत छैन ।

गत शुक्रबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण राज्यले ठूलो धनजनको क्षति बेहोर्नुपरेको छ । नेपालीको महान् चाड दसैँ नजिकिँदै गर्दा यो प्राकृतिक विपदको घटनाले दुई सयभन्दा बढीले कालमै ज्यान गुमाउनुपर्‍यो भने कतिको घर भत्किने, पुरिने हुँदा अब कसरी गुजारा चलाउने भन्ने चिन्ताले सताएको छ । विपद् प्रभावित क्षेत्रहरुका बासिन्दाले भोग्नुपरेको चरम खानेपानीको समस्या तत्काल समाधान गर्नुपर्ने दायित्व सरकारलाई थपिएको छ । पीडितले पानीविनाको जीवन कसरी कटाएका होलान् ? पानी नै पाए पनि कतै ढलसहित मिसिएको छ ? कतै धमिलो खोला छिरेको छ ? प्रभावित क्षेत्रका जनतालाई यतिबेला सफा खानेपानीको पहुँच अत्यन्त जरुरी छ ।

पहिरोका कारण अधिकांश स्थानमा खानेपानीको मुहान नै पुरिएकाले समस्या भएको बताउनुहुन्छ, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रवक्ता प्रकाशकुमार राई । “वर्षाका कारण फर्पिङ हेल्थपोष्टदेखि फर्पिङ पम्पहाउससम्म आउने पेनस्टक पाइप र ललितपुरको नल्लुबाट चापागाउँ पानीपोखरीसम्म आउने पाइपमा ठूलो क्षति पुगेका कारण ललितपुरका अधिकांश स्थानमा पानीको समस्या भएको छ,” उनले भने, “धेरै ठाउँमा खानेपानीको स्रोत नै पुरिएको छ, मर्मतका लागि जाने बाटो पनि छैन ।”

उनका अनुसार खुमालटार क्षेत्रमा भने सुन्दरीजलको पानी ल्याएर वितरण गर्ने योजना छ । राईले गुणस्तरीय पानी उपलब्ध गराउन केयुकेएलले पानी प्रशोधनको प्रक्रिया अपनाएर वितरण गरेको भए पनि बिचमा पाइपलाइन बिग्रिएर फोहोर पानी छिरेको हुनसक्ने हुँदा पानी शुद्धीकरण गरेर मात्र प्रयोग गर्न अनुरोध गरे । अधिकांश स्थानमा बाटो बिग्रिएको, हिलो जमेकाले गर्दा क्षतिको अवस्थाबारे अवलोकन गर्न र सुधारका लागि आवश्यक प्रक्रिया अपनाउन समेत गाह्रो भएको उनको भनाइ छ । “अहिले नै कति क्षति भयो भन्ने अवस्था छैन,” उनले भने, “चाँडोभन्दा चाँडो मर्मत गर्ने छौँ ।”

प्रदूषित पानीले जनस्वास्थ्यमा गम्भीर प्रभाव पर्नसक्ने
जनस्वास्थ्यविद् डा. समीर अधिकारीले विपदको बेलामा स्वच्छ खानेपानी र सरसफाइको अभावका कारण सर्वसाधारणमा झाडापखालाजस्ता रोग लाग्नसक्ने बताएका छन् । “बाढी, पहिरो, ढुबानपछि जनस्वस्थाका ठूला समस्या आउन सक्छ, फोहोर पानी पिउँदा पखला, टाइफाइड, छालारोग तथा अन्य दीर्घकालीन रोगसमेत लाग्न सक्छ,” उनले भने, “विपद्पछि पानीको स्रोत सफा गर्नुपर्छ, पानी उमालेर मात्रै प्रयोग गर्नुपर्छ ।”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनहितका लागि जारी गरेको सूचनामा विपद्को समयमा खानेपानी तथा सरसफाइमा विशेष ध्यान दिनुपर्ने र यस्तो समयमा विभिन्न किसिमका रोगहरूको सङ्क्रमण हुने सम्भावना अधिक रहने उल्लेख छ । “दूषित पानीबाट सर्ने रोग, लामखुट्टेको टोकाइबाट सर्ने रोगलगायत रोगहरूको सङ्क्रमण हुनेगर्छ । मन्त्रालयका अनुसार सडेगलेका, बासी र झिँगा भन्केका खानेकुराहरू नखाने, काँक्रो, गाजर, फलफूलजस्ता काँचै खान मिल्ने खानेकुरा सधैँ सफा पानीले धोएर खाने, खाना पकाउनुअघि, खाना खानुअघि, बालबालिकालाई खाना खुवाउनुअघि, फोहोर छोएपछि, दिसापिसाब गरेपछि, चर्पीको प्रयोग गरेपछि र बालबालिकाको दिसा धोएपछि साबुनपानीले मिचीमिची हात धुन लगाउनुपर्छ ।

चर्पीमा मात्र दिसापिसाब गर्ने गरौँ र बालबालिकाको दिसालाई पनि चर्पीमा नै विसर्जन गर्ने, फोहरलाई सधैँ निश्चित ठाउँमा सही तरिकाले व्यवस्थापन गर्ने, खोक्दा, हाच्छिउँ गर्दा सफा कपडाले नाकमुख छोप्ने गर्ने, झाडापखाला, हैजा, आउँ, निमोनिया, रुघाखोकी तथा टाइफाइडका लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्ने मन्त्रालयका भनाइ छ ।

लामखुट्टेबाट रोग सर्ने सम्भावना अधिक हुने भएकाले वर्षाका कारण आसपासमा भरिएका पानीलाई हटाउने वा बगाइदिने, वर्षाका कारण भाडाहरुमा पानी भरिएका छन् भने त्यसलाई बगाइदिनुपर्ने मन्त्रालयले जानकारी गराएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार