घटस्थापनादेखि पूर्णीमासम्म रात्रिकालीन हवाई उडान हुने

बाढी- पहिरोका कारण देशैभरका मुख्य राजमार्गहरू प्रभावित भएपछि सरकारले रात्रिकालीन हवाई उडान थालनी गर्ने भएको छ ।

घटस्थापनादेखि कोजगत पूर्णिमासम्म ( असोज १७ देखि ३० गतेसम्म) लागू हुनेगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल,गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललगायत रात्रिकालीन उडान हुने विमानस्थलहरूमा रात्रिकालीन उडान सञ्चालन गरिने भएको हो ।

संस्कृति पर्ययटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले घटस्थापनादेखि पूर्णीमासम्म रात्रिकालीन उडानको  व्यवस्था मिलाएको जानकारी दिए । मन्त्री पाण्डेका अनुसार बिहान ४:३० बजेदेखि राति अपरेशन समय आवश्यकताअनुसार थप हुनेगरी सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।

उनले भने,’बाढी- पहिरो तथा चाडपर्वका कारण सिर्जित बढ्दो हवाई चापलाई सम्बोधन गर्न २०८१/०६/१७ (घटस्थापना) देखि २०८१/०६/३० (पुर्णिमा) सम्म  त्रिअवि, गौतमबुद्ध, पोखरा अन्तराष्ट्रिय विमानस्थललगायत रात्रिकालीन उडान हुने सम्पूर्ण  विमानस्थलहरू बिहान ४:३० बजेदेखि राति अपरेशन समय (आवश्यकता अनुसार थप हुने)सम्म नै  सञ्चालनमा आउने व्यवस्था मिलाइएको छ ।’

यसअघि असोज १३ गते मन्त्री पाण्डेको निर्देशनमा वायुसेवा कम्पनीहरू तीन दिनका लागि मात्रै अधिकतम मूल्यमा टिकट बिक्री नगर्ने सहमत भएका थिए । 

तीन दिनका लागि मात्रै अधिकतम मूल्यमा टिकट बिक्री नगर्ने सहमत भएका वायुसेवा कम्पनीहरू मन्त्री पाण्डेको विशेष पहलमा सडक सञ्चालनमा नआएसम्म सरकारले तोकेको अधिकतम हवाई भाडा नलिन सहमत भएका  छन् ।

विपद्का बेला महंगोमा हवाई टिकट बिक्री गरेको भन्दै चौतर्फी आलोचना भएपछि  वायुसेवा कम्पनीहरूले तीन दिनलाई (अपर लिमिट) अधिकतम मूल्यमा टिकट बिक्री नगर्ने सहमत भएका थिए ।

अविरल वर्षासँगे आएको बाढी -पहिरोले देशभरका अधिकांश सडक सञ्जाल र राजमार्गहरू अवरोध भएका छन् । अवरुद्ध सडक खुलाउने प्रयास भइरहे पनि तत्काल संभव भने छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार