अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जनालाई पक्राउ गरेको छ ।  हेटौंडा उपमहानगरपालिका १९ नेवारपानीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ७ किलोग्रामसहित थाहा नगरपालिका २ पालुङ बस्ने २४ वर्षीय सुजन तामाङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको बा १२ च २८८५ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा प्लाष्टिकमा प्याकिङ गरेको १४ वटा प्याकेटमा रहेको उक्त परिमाणको गाँजा फेला पारी गाडी चालक तामाङलाई पक्राउ गरेको हो । 

कैलाली, टिकापुर नगरपालिका-४ अस्नेरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम १ सय २० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टिकापुर नगरपालिका-१ नयाँ बस्ती बस्ने २१ वर्षीय धुर्व साउद र २४ वर्षीय देबराज साउद रहेका छन् । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

बारा, जितपुरसिमरा उपमहानगरपालिका-७ बैदेही पेट्रोल पम्प अगाडि सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १० ग्राम सहित पर्सा वीरगंज महानगरपालिका-२१ बस्ने ५८ वर्षीय बिरेन्द्र प्रसाद साह समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जितपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज पर्साबाट खटिएको संयुक्त टोलीले वीरगंजबाट जितपुरतर्फ जाँदै गरेको ना २२ प ९९९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

बाँके, खजुरा गाउँपालिका-७ बठुवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ४० मिलिग्राम सहित ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय रिङकु श्रीवास्तव, २३ वर्षीय हसन महोमद साई र २४ वर्षीय फरमान खाँन रहेका छन् । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले रिङकुको घरबाट उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो । 

सुनसरी, बर्जु गाउँपालिका-५ पक्कीटोलबाट अवैध लागूऔषध गाँजा करिब २५ किलोग्राम सहित देवानगंज गाउँपालिका-१ मध्यहर्षाही बस्ने १८ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले पक्किटोलतर्फ आउँदै गरेको अल्फाबेट नखुलेको ९११३ नम्बरको मोटरसाइकलमा सवार ती किशोरलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । हाल मोटरसाइकलसहित फरार भएका चालकको प्रहरीले खोजी गरिरहेको छ ।  

सिराहा, मिर्चैया नगरपालिका-२ सिक्रोन जाने भित्री बाटोबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम २१ मिलिग्राम सहित मिर्चैया नगरपालिका-२ मलिनिया पिडारी बस्ने २७ वर्षीय कासिन्दर मण्डललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

दाङ, घोराही उपमहानगरपालिका-१४ बसपार्क नजिकैबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित सोही ठाउँस्थित न्यू थवाङ्गी लालीगुराँस खाजा घरका संचालक रोल्पा घर भएका २३ वर्षीय किशोर सुनारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी दाङ, घोराही उपमहानगरपालिका-१४ बसपार्कस्थित न्यू कोसेली खाजा घर संचालन गरी बस्ने रोल्पा घर भएकी ४७  वर्षीया मिना घर्ति मगरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ५० मिलिग्राम सहित बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार