क्रसर उद्योगले बनाएको खाल्डोमा डुबेर दुई बालकको मृत्यु

मोरङमा क्रसर उद्योगले बनाएको खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएको छ । केराबारी गाउँपालिका–८ मा रहेको कृष्ण क्रसरले बनाएको खाल्डोमा डुबेर सोही स्थानका तोयानाथ चौलागाईंका छोरा ६ वर्षीय रामचरण र १० वर्षीय भूपेनको खाल्डोमा डुबेर मृत्यु भएको हो ।

कृष्ण क्रसर केराबारी गाउँपालिका पूर्वपालिका अध्यक्ष रोहित कार्कीसहितको समूहले सञ्चालन गर्छ । क्रसर उद्योगको परिसरबाट केहीदिनअघि ढुंगागिटी निकाल्दा खाल्डो बनेको थियो । सो खाल्डो नपुर्दा दुई बालकको मृत्यु भएको हो ।

प्रहरीका अनुसार रामचरणको शव साढे ३ बजे पोखरीमा भेटिएको थियो । उनका दाजु भूपेन बेपत्ता थिए, प्रहरीले खाल्डोमा खोजी गर्ने क्रममा साँझ भूपेनको पनि शव भेटिएको हो ।

सुरुमा भेटिएको शवलाई प्रहरीले पोष्टमार्टमका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ । पछि खोजी गर्ने क्रममा भेटिएको दाजुको शव भने स्थानीयले निकाल्न दिएका छैनन् । क्रसरको लापरवाहीले दुई बालकको मृत्यु भएको भन्दै उनीहरुले छानबिन गर्न माग गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार