पानीको बहाब घटेपछि कोशी ब्यारेजको मर्मत गर्न थालियो

यही असोज ११ र १२ गते सप्तकोसीमा आएको बाढीबाट क्षति पुगेको कोशी ब्यारेजको मर्मत सम्भार गर्न थालिएको छ । बाढीबाट ब्यारेजको विभिन्न ठाउँ भत्किएको थियो ।  

पूर्वी पहाडी जिल्लामा अत्यधिक वर्षा भएपछि कोशी ब्यारेजमा पानीको बहाब प्रतिसेकन्ड ६ लाख ९१ हजार क्युसेकसम्म मापन गरिएको थियो । सप्तकोशीको पानी कोसी ब्यारेज माथिबाट बग्न थालेको थियो ।

बाढीका कारण ब्यारेजको विभिन्न भागमा क्षति गरेपछि मर्मत थालिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।

सप्तकोशी नदीमा पानीको बहाब क्रमिकरूपमा घट्दै गएको छ । पानीको बहाब घटेपछि भत्किएका संरचनाको मर्मत सम्भार सुरु गरिएको तिवारीले बताए । कोशी ब्यारेजको मर्मत सम्भारको काम भारतीय पक्षले गर्न थालेको उनले बताए ।

अहिले कोशी ब्यारेजमा पानीको बहाब घटेर प्रतिसेकेन्ड एक लाख ३८ हजार क्युसेक पुगेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । वर्षाको सम्भावना अझै कायमै रहेकाले सतर्क रहन जिल्ला प्रशासन कार्यालय सुनसरीले सूचना जारी गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार