च्यांग्रा व्यापारीको यात्राः रारादेखि फेवा तालसम्म

 उपल्लो मुस्ताङदेखि च्यांग्रा लिएर पोखरा झर्दै गरेका मुगुका छिरिङ छोर्वे लामा शुक्रबार दिउँसो लुम्लेमा भेटिए । साढे दुई सय च्याङ्ग्रा लिएर आफू आठ दिनअघि उपल्लो मुस्ताङबाट हिँडेको सुनाए ।  

मुस्ताङ, म्याग्दी, पर्वत हुँदै लुम्ले आइपुगेका उनका साथमा दुई साथी पनि थिए । लामो यात्राले थकित शरीरलाई ठाउँठाउँमा विश्राम दिँदै उनी दसैँको मुखमा च्यांग्रा बेच्न लुम्ले आइपुगे ।   च्यांग्रा बिक्री गर्दै आइतबार बिहानसम्म पोखरा पुग्ने उनको योजना छ । 

लामाले दसैँमा च्यांग्रा बेच्न यो मार्गमा यसरी हिँडेको पहिलो पटक भने होइन । विगत एक दशकदेखि नियमित जसो च्यांग्राको व्यापार गर्न उनी मुगुबाट यहाँ आउँछन् ।  

“यसपाली दुई महिनाअघि मुगुको राराबाट हिँडेको थिए, मुगुबाट नेपालगञ्ज जहाज र त्यहाँदेखि पोखरा हुँदै गाडीको यात्रामा मुस्ताङ पुगेको थिएँ”, उनले भने । लामो समयदेखि यहाँ आइ च्यांग्रा बिक्री गर्दै आएका छिरिङलाई मुस्ताङदेखि पोखरासम्मका हरेक ठाउँबारे राम्रो जानकारी छ । मुस्ताङ र म्याग्दीका अग्ला भिरपहरा छिचोल्दै लुम्मेसम्म आइपुग्दा उनले १८ वटा च्यांग्रा बिक्री भइसकेको बताए ।  

लामाभन्दा अगाडि केही व्यापारीले च्यांग्रा पोखरा पुर्याइसकेका छन् । अघिल्लो वर्षको तुलनामा मूल्य कम हुँदा च्यांग्राको माग बढेको उनको अनुभव छ । यही असोज २२ गतेसम्म सबै च्यांग्रा बिक्री गरेर गाउँ फर्कने उनको योजना छ । 

मुगुको रारा तालदेखि कास्कीको फेवा तालसम्म च्यांग्रा व्यापारमा वर्षौं बिताएका लामाले यही पैसाले परिवारको पालनपोषण र छोराछोरी पढाउन सहज भएको बताए । उनले मुस्ताङको उच्च हिमाली क्षेत्रदेखि डोल्पासम्म पुगेर च्यांगा ल्याउँछन् । 

“दसैँको बेला पोखरामा बस्ने दाजुभाइहरुले च्यांग्राको मासु धेरै रुचाउनुहुन्छ, यो बेला च्यांग्रा लिएर उनीहरुलाई मासु खुवान पाउँदा हामीलाई पनि खुसी लाग्छ”, लामाले भने, “राराबाट पोखरा आउन सजिलो छैन, म पोखरा, मुस्ताङ र रारा ओहोरदोहोर गर्न लागेको धेरै वर्ष भयो, दुःख छ भनेर काम नगरे के खाने ?”

अघिल्लो वर्ष मूल्य धेरै बढ्दा बजारमा माग कम आएको हुँदा यस वर्ष करिब रु १० देखि १२ हजारले मूल्य घटाएको लामा बताउँछन् ।  लामाको व्यवसायिक साझेदार हुन् मुस्ताङका कर्मा लामा । उनले भने यस वर्ष हिमालबाट ढिला झर्दा सोचे अनुसारको बिक्री नभएको बताए ।  

यस वर्ष च्यांग्राको अधिकतम मूल्य ४० देखि ४५ हजार रहेको कर्माले जानकारी दिए । आफूहरुले बथानमा रहेका रोज्जा च्यांग्रालाई ४२ हजारमा दिने गरेको उनी बताउँछन् । 

दसैँका बेला म्याग्दी, बागलुङ, पोखरा र काठमाडौंका व्यापारी मुस्ताङको माथिल्लो क्षेत्रमा रहेका गोठमै पुगेर च्यांग्रा खरिद गरेर ल्याउने गर्छन् । यसवर्ष पनि धेरैको संख्यामा व्यापारी मुस्ताङ पुगी च्यांग्रा लिएर बजार पुग्न थालेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार