एउटै फर्मका ५ हजारभन्दा बढी कुखुरा मरे

कैलालीको घोडाघोडी नगरपालिका–८ मा गम्बोरो रोगका कारण पाँच हजार वटाभन्दा बढी कुखुरा मरेका छन् ।

किसान पहल देउवाले पालेका पाँच हजार वटाभन्दा बढी लेयर्स कुखुरा मरेका हुन् । यसअघि आफ्नो फर्ममा गम्बोरो रोग कहिल्यै नदेखिएको देउवाले बताए ।

‘यो रोगका कारण यति धेरै कुखुरा मरेको पहिलोपटक हो । कुखुरा बिरामी भएको थाहा पाउने बित्तिकै ल्याब परीक्षण गर्दा गम्बोरो रोग लागेको पहिचान भएको थियो । भ्याक्सिन, औषधि दिँदादिँदै पनि खोर नै रित्तिने गरी कुखुरा मरेपछि ३० लाख रूपैयाँ बढीको क्षति छ,’ उनले भने ।

घोडाघोडी नगरपालिका पशु शाखा प्राविधिक मनोज आचार्यले पनि गम्बोरो रोगका कारण पहिलोपटक पालिकामा क्षेत्रमा यति धेरै क्षति भएको बताए ।

‘पाँच हजार सात सयवटा कुखुरा ल्याएकामा अब छ/सात सय बचेका छन्, ती पनि मरिरहेका छन् । यति धेरै क्षति भएकामा हामी पनि चिन्तित छौं,’ उनले भने । चाडपर्व नजिकिएका यो क्षतिले बज्रपात आइलागेको देउवाले बताए ।

‘सरकारले पशु बीमा कार्यक्रमअन्तर्गत कुखुराको पनि बीमा गर्ने सुविधा गरिदिएको भए हामीजस्ता किसानलाई केही राहत मिल्थ्यो । भैंसी, बाख्रा लगायतको बीमा भए पनि कुखुरा, माछाको हुँदैन । अब क्षतिपूर्ति गर्ने कुनै उपाय पनि छैन,’ निरास हुँदै उनले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार