पहिलो द्विपक्षीय भ्रमणका लागि माल्दिभ्सका राष्ट्रपति मुइज्जु भारत प्रस्थान

माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु आइतबार प्रथम महिला साजिदा मोहम्मदसँग भारतको राजकीय भ्रमणका लागि प्रस्थान गरेको मुलुकको राष्ट्रपति कार्यालयले जनाएको छ । यो मुइज्जुको भारतको पहिलो द्विपक्षीय भ्रमण हो ।

“राष्ट्रपति डा. एम. मुइज्जु र प्रथम महिला साजिदा मोहम्मद गणतन्त्र भारतको राजकीय भ्रमणका लागि प्रस्थान गर्नुभयो”, माल्दिभ्सको राष्ट्रपति कार्यालयले सामाजिक सञ्जाल एक्समा भनेको छ, “भारतका राष्ट्रपति द्रौपदी मुर्मूको निमन्त्रणामा यो भ्रमण भएको हो र यो राष्ट्रपति मुइज्जुको भारतको पहिलो द्विपक्षीय भ्रमण हो ।”

हालै न्युयोर्कमा भएको ७९औँ संयुक्त राष्ट्रसङ्घीय महासभाको साइडलाइनमा मुइज्जुले जतिसक्दो चाँडो भारत भ्रमण गर्ने योजना बनाइरहेको बताएका थिए । उनले दुई मुलुकबीच ‘धेरै बलियो’ द्विपक्षीय सम्बन्धको समेत प्रशंसा गरे ।

मुइज्जुले यस वर्ष भारत भ्रमण गरेको यो दोस्रो पटक हुनेछ । यसअघि गत जुनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा उनले भारत भ्रमण गरेका थिए ।

यसअघि माल्दिभ्सका प्राय हरेक राष्ट्रपतिले आफ्नो पहिलो विदेश भ्रमण भारतमा गर्ने गरेका थिए तर मुइज्जुले पदभार ग्रहण गरेपछि पहिले टर्की र त्यसपछि चीनको भ्रमण गरेर यो परम्परालाई तोडे।

माल्दिभ्समा मोहमम्मद मुइज्जु सरकारले भारतसँगको सम्बन्ध बिग्रिएर कूटनीतिक विवाद उत्पन्न भएपछि मेलमिलापको दृष्टिकोण अपनाएको छ ।

सत्तामा आएपछि मुइज्जुले भारत–माल्दिभ्स सम्बन्धको दृष्टिकोणबाट केही अपरम्परागत कदम चालेको छ । राष्ट्रपति निर्वाचनका क्रममा उनले आफ्नो अभियान ‘इन्डिया आउट’ का रूपमा चलाए । माल्दिभ्सबाट भारतीय सैनिकहरू हटाउने उनको पार्टीको प्रमुख निर्वाचन अभियान थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार