इजरायली सैन्य क्याम्पमा हिजबुल्लाहको ड्रोन हमला, ४ सैनिक मारिए, ६० बढी घाइते

काठमाडौं । लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेसमा ड्रोनबाट हमला गरेको छ ।

स्थानीय समयअनुसार आइतबार राति गरेको हमलामा इजरायलका ४ जवान मारिएका छन् भने ६० जनाभन्दा बढी घाइते भएका छन् । हिजबुल्लाहले हमलाको जिम्मेवारी लिंदै आईडीएफको गोलानी ब्रिग्रेडको प्रशिक्षण केन्द्रलाई निशाना बनाएको बताएको छ ।

इजरायली सेनाले लेबनानमा हिजबुल्लाह विरुद्ध आक्रमण तीव्र बनाइरहेको बेला यो हमला भएको हो ।

उत्तरी इजरायलको हाइफा सहरबाट ३३ किलोमिटर टाढा रहेको बिन्यामिन नजिकैको आधार शिविरमा आक्रमण भएको इजरायली रक्षा बल (आइडीएफ) ले जनाएको छ। हिजबुल्लाहको मिडिया युनिटले बिहीबार इजरायली सेनाले दक्षिणी लेबनान र बेरुतमा आक्रमण गरेकोमा त्यसको प्रतिक्रियास्वरूप यो ड्रोन आक्रमण गरिएको प्रतिक्रिया दिएको छ।

इजरायली रक्षा बल (आइडीएफ)का अनुसार ड्रोन हमला साँझ ७ बजेभन्दा पहिले भएको थियो। इजरायली सञ्चारमाध्यमका अनुसार सैन्य बेसभित्र एउटा डाइनिङ हललाई निशाना बनाइएको थियो । हमलामा थप ७ जना सैनिक गम्भीर घाइते भएका र उनीहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको बीबीसीले जनाएको छ ।

ड्रोन आउनुअघि खतराको संकेत दिने कुनै पनि साइरन नबज्नाले इजरायली सेनाले सुरक्षा मापदण्ड अपनाउने समय नै नपाएको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले खबर लेखेका छन् ।

आईडीएफ प्रवक्ता ड्यानियल हगारीले राति अबेर घटनाको ड्रोन इजरायल प्रवेश गर्दा कुनै चेतावनी साइरन नबजेको बारे अनुसन्धान भइरहेको प्रतिक्रिया दिएका छन् । हगारीले आक्रमणका बारेमा अफवाह नफैलाउन सर्वसाधारणलाई अपिल गर्दै तथ्य संकलन भइरहेको बताएका छन् ।

इजरायली सेनाका प्रवक्ताले इजरायलले युद्धको सुरुवातदेखि नै (मानवरहित हवाई यान) यूएभीको खतरा सामना गरिरहेको बताएका छन् । ‘हामीले राम्रो सुरक्षा दिनुपर्छ । हामी यस घटनाको छानबिन गर्नेछौं, यसबाट पाठ सिक्नेछौं र सुधार गर्नेछौं,’ उनले भने ।

टाइम्स अफ इजरायलले आईडीएफको प्रारम्भिक अनुसन्धान प्रतिवेदनलाई उद्धृत गर्दै लेबनानबाट प्रक्षेपण गरिएका दुई ड्रोनहरू समुन्द्र मार्गबाट ​​इजरायली क्षेत्रमा प्रवेश गरेको बताएको छ। यी दुवै मिरसाद ड्रोन थिए, जसलाई इरानमा अबबिल-टी भनिन्छ। यो हिजबुल्लाहको आत्मघाती ड्रोन हो।

इजरायल प्रवेश गरेको दुई ड्रोनलाई इजरायली राडारले ट्र्याक गरेको थियो र एउटा हाइफाको उत्तरी तटमा खसालिएको थियो। इजरायली वायुसेनाका विमानहरू र हेलिकप्टरहरूले दोस्रो ड्रोनलाई पछ्याए पनि ती राडारबाट गायब भएका थिए ।

सम्भवतः यो जमिनको धेरै नजिक उडेकाले इजरायली सेनाले पत्ता लगाउन नसकेको हो । राडारबाट हराएको ड्रोनबाट नै आक्रमण भएको अनुमान गरिएको स्थानीय सञ्चार माध्यमले खबर लेखेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार