हुम्लीलाई दसैँमा पनि अन्नबाली भित्र्याउन चटारो

हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट तीन दिनदेखि सुनसान छ। बडादसैँमा गाउँ फर्केकाहरु टीका सकिए पनि सदरमुकाम फर्किन बाँकी रहेकाले सुनसान भएको हो।

दसैँमा पहिलो पटक सिमकोट बजार यति धेरै सुनासान देखिएको स्थानीय व्यापारी बताउँछन्। सदरमुकाममा तल्लो र माथिल्लो गाउँका केही सर्वसाधारण मात्रै भेटिने गरेका छन्। बजारका व्यवसायी, कर्मचारी, शिक्षक र विद्यार्थी दसैँ मनाउन घर गएका छन्।

दसैँमा खुलेका पसलमा पनि ग्राहक नआएको सदरमुकाममा पसल गर्दै आएका नरेन्द्र भण्डारीले बताए। सदरमुकाम सुनसान हुनुको कारण स्थानीयलाई कात्तिकमा पाक्ने अन्नबाली भित्र्याउने चटारो रहेको स्थानीय मुकुन्द रोकायाले बताए।

छ महिनाको लगानी खेर जाने चिन्ताले पनि दसैँभन्दा कामलाई बढी प्राथमिकता दिँदा दसैँले नछोएको रोकायाको भनाइ छ।
‘अहिले खेतमा पाकेको फल (तुल) घर नभित्र्याए हिउँदको छ महिना कसरी घर गुजारा गर्ने?’, उनले भने।

अष्टमीको दिन दसैँ मनाएर हिउँदमा पशुपक्षीका लागि घाँसको बन्दोबस्त गर्न र अन्नबाली भित्र्याउन व्यस्त भएको सिमकोट गाउँपालिका–२ बदुम बोहराले बताए। यहाँका गाउँमा चिनो, कागुनो, कोदो, सिमी पाकेकाले भित्र्याउनमा स्थानीयवासी व्यस्त भएका हुन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार