शिक्षामा दुई महिनामै बाहिरियो २८ अर्ब बढी विदेशी मुद्रा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिना नेपालबाट विदेश पढ्न जाने विद्यार्थीसँगै २८ अर्ब रुपैयाँभन्दा बढी विदेशी मुद्रा बाहिरिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार शिक्षामा २८ अर्ब १६ करोड रुपैयाँ विदेशिएको छ । अघिल्लो वर्ष साउन र भदौमा शिक्षामा २३ अर्ब ३३ करोड रुपैयाँमात्र विदेशिएको थियो ।

शिक्षामा अधिक रकम विदेशिँदा सेवा आय निरन्तर घाटामा छ । भदौसम्म खुद सेवा आय २८ अर्ब २० करोडले घाटामा देखिन्छ । अघिल्लो वर्ष सेवा आय २५ अर्ब २३ करोडले घाटामा थियो ।

राष्ट्र बैंकका अनुसार सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय १२.१ प्रतिशतले बढेर १० अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सेवा आय ९ अर्ब ४० करोड रुपैयाँ थियो । पर्यटक आगमनको सकारात्मक प्रभाव भ्रमण आयमा पर्छ ।

उता, भ्रमण व्यय भने ४३ अर्ब ४९ करोड पुगेको छ । यसमध्ये शिक्षा बाहेकको भ्रमण व्यय १५ अर्ब ३३ करोड रुपैयाँ थियो । यस आँकडा अनुसार नेपाल आउने पर्यटकको तुलनामा नेपालबाट विदेश भ्रमणमा जाने नेपालीले धेरे खर्च गरिरहेको देखिन्छ । अघिल्लो वर्ष भ्रमण व्यय ३५ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय २३ अर्ब ३३ करोड थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार