मूल्यवृद्धि दर ३.८५ प्रतिशत

काठमाडौं । भदौ महिनामा उपभोक्ता मूल्य वृद्धिदर ३.८५ प्रतिशत कायम भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दुई महिनाको वित्तीय स्थिति प्रतिवेदनअनुसार मूल्यवृद्धि दर गत भदौको तुलनामा आधा खुम्चिएको हो । गत भदौमा उपभोक्ता मूल्यवृद्धिदर ८.१९ प्रतिशत थियो ।

खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ५.०३ प्रतिशत छ भने गैर खाद्य अर्थात् सेवा समूहको मूल्य वृद्धि ३.१९ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ९.७७ प्रतिशत र सेवा समूहको ७.१९ प्रतिशत थियो ।

खाद्य तथा पेय पदार्थ समूहमा पनि दाल तथा गेडागुडीको मूल्यवृद्धि केही धेरै देखिन्छ । दाल तथा गेडागुडी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १०.८० प्रतिशत, तरकारीको ९.८४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.३४ प्रतिशत र फलफूलको ४.९४ प्रतिशतले बढेको छ । मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २.६९ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप– समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ८.७१ प्रतिशत, मदिराजन्य पेय पदार्थको ६.७६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.०८ प्रतिशत र घरायसी उपकरणको ४.८८ प्रतिशतले बढेको छ भने विमा तथा वित्तीय सेवा उप– समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्कमा परिवर्तन भएको छैन ।

प्रदेशगत रुपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६६ प्रतिशत, मधेश प्रदेशको ३.८२ प्रतिशत, बागमती प्रदेशको ३.२९ प्रतिशत, गण्डकी प्रदेशको ३.५० प्रतिशत, लुम्बिनी प्रदेशको ३.५३ प्रतिशत, कर्णाली प्रदेशको ३.५६ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ५.९० प्रतिशत रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार