धादिङमा ८६ वर्षीया बृद्धाको हत्या, एक जना पक्राउ

धादिङ । शिद्धलेक गाउँपालिका स्थित वडा नम्बर ६ सिम्ले भन्ने स्थानमा ८६ वर्षीया वृद्धाको हत्या भएको छ । गए राति अन्दाजी ११ तिर ८६ वर्षीया सुन्तली माया घलेको हत्या भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिएका छन् ।

हत्या भएको खबर लगत्तै पाण्डेले आफ्नै कमाण्डमा प्रहरी परिचालन गरी हत्यामा संलग्नलाई खोजेका थिए । हत्या गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउसमेत गरेको छ । निलकण्ठ नगरपालिका स्थित वडा नम्बर-८ को मैदी भञ्ज्याङ भन्ने स्थानबाट भाग्दै गरेको अवस्थामा आज बिहान गोर्खा आरुघाट गाउँपालिका निवासी २९ वर्षीय बिजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

ती युवकले गोर्खाबाट धादिङको शिद्धलेक गाउँपालिकास्थित सिम्लेमा आफन्तको घरमा गएको बेला छिमेकी सुन्तली मायालाई राति आफन्त लालबहादुर घलेको बारीमा लगी हत्या गरेर छाडिदिएको प्रारम्भिक वयानमा बताएका छन । हत्याको कारण भने खुल्न सकेको छैन । युवकलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरीमा राखिएको छ ।।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार