क्यूएफएक्सले दियो ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’लाई सुुपरहिटको मान्यता

मुलुकको सबैभन्दा ठूलो सिनेमा मल्टिप्लेक्स चेन क्यूएफएक्सले प्रदर्शनरत दशैंका फिल्म ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’लाई ‘सुपरहिट’ घोषणा गरेको छ ।

चेन अन्तर्गतका हलमा भएको कमाइको आधारमा यी दुई फिल्मलाई ‘सुपरहिट’ ट्याग दिइएको क्यूएफएक्सको माउ कम्पनी टीम क्वेस्टकी जनरल म्यानेजर तृप्ती गिरीले जनाइन् ।

उनका अनुसार क्यूएफएक्सका हलमा कुनै फिल्मले पहिलो सप्ताहन्त (विकेन्ड) मा १ करोड ५० लाख रुपैयाँ ग्रस कमाए ‘ब्लकबस्टर’ को ट्याग दिइन्छ । तर, एकसाताभरि सोही बराबरको कमाइ गरेमा ‘सुपरहिट’ घोषणा गरिन्छ ।

‘‘छक्कापञ्जा ५’ ले गत सोमबार देशभरिका हलमा उक्त रकम पार गरेको थियो । तर, १२ गाउँलाई भने यो मापदण्ड पूरा गर्न बुधबारसम्म समय लाग्यो । हाम्रो चेनमा दुवै फिल्मले डेढ करोड/डेढ करोड माथि कलेक्सन गरेका छन्,’ उनले भनिन् ।

क्यूएफएक्सले ‘महाजात्रा’बाट सुपरहिटको ट्याग दिन सुरु गरेको हो । त्यसयता महाजात्रा, बोक्सीको घर, स्त्री २, कल्कीले मात्र सुपरहिटको ट्याग पाइसकेका छन् ।

हलमा तोकिएको कमाइ पुरा गरेमा अटोमेटिकरुपमा वेबसाइटमा ट्याग देखापर्ने गिरीको भनाई छ । अहिले उपत्यकामा ७ र काठमाडौँ बाहिर १० गरी क्यूएफएक्सको संख्या १७ हलहरु छन् । जसमा ४० वटा पर्दाहरु रहेका छन् ।

विराज भट्ट निर्देशित ‘१२ गाउँ’ ले एकसातामा देशभर १० करोड ५ लाख ग्रस कलेक्सन गरिसकेको छ । त्यसैगरि, दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म ‘छक्कापञ्जा ५’ ले पनि एकसातामा ११ करोड ५० लाख कमाइ सकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार