साफ महिला च्याम्पियनसिप : श्रीलंकाको विजयी सुरुवात 

साफ महिला च्याम्पियनसिप २०२४ मा श्रीलंकाले विजयी सुरुवात गरेको छ । श्रीलंकाले शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सविरुद्ध १–० को जित निकालेको हो ।

खेलको १८ औँ मिनेटमा इमेसा अनुराधिनीले गरेको गोल र्नै श्रीलंकाका लागि निर्णायक बन्यो । कोस्वाथथागे परेराले दाहिने भागबाट गरेको क्रसमा इमेसाले हेडर गोल गरिन् ।

त्यसबाहेक खेलमा श्रीलंकाले केही उत्कृष्ट गोलका अवसर खेर फाल्यो । आठौँ मिनेटमा शिवानेश्वरन थर्मिकाले १८ यार्ड बक्सबाट गरेको प्रहार पोष्टमा लागेर फर्किएको थियो । जसलाई माल्दिभ्सका रक्षकले क्लियर गर्दै खतरा टारे‌ । ३३औँ मिनेटमा श्रीलंकाले अर्को सुनौला अवसर सदुपयोग गर्न सकेन ।

डिफेन्सबाट आएको बललाई इमेसाले नियन्त्रणमा लिँदै पेनाल्टी बक्सको दाहिने तर्फबाट प्रहार गरे पनि त्यसलाई माल्दिभ्सकी गोलकिपर अमिनाथ लिजाले विफल बनाइन् । सोही रिबाउन्डमा इमेसाले अर्को प्रहार गरे पनि पुनः माल्दिभ्सकी गोलकिपर लिजाले पन्च गर्दै खतरा टारिन् ।

प्रतियोगितामा माल्दिभ्स र श्रीलंका समूह बी मा छन् । यो समूहमा यी दुई टिमसँगै भुटान र नेपाल छन् । जितसँगै श्रीलंकाले तीन अंक जोडेको छ । प्रतियोगिताको समूह ए मा भारत, पाकिस्तान र बंगलादेश छन् ।

प्रतियोगितामा घरेलु टोली नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग आजै खेल्ने तालिका छ । यो खेल बेलुका ५ः३० बजेदेखि सुरु हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार