रवि पक्राउ प्रकरणको संयोग: दुवै पटक प्रधानमन्त्री ओली, पक्राउ गर्ने वोगटी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा लामिछानेलाई कास्की प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको हो । लामिछाने काठमाडौंस्थित पार्टी मुख्यालय घण्टीघरबाट पक्राउ परेका हुन् । उनलाई आजै कास्की लगिने प्रहरीले जनाएको छ ।

रवि लामिछाने यसअघि २०७६ साउन ३० गते पक्राउ परेका थिए । संयोग नै मान्नुपर्छ, पहिलोपटक पक्राउ पर्दा र अहिले दोस्रोपटक पक्राउ पर्दापनि सरकारको नेतृत्व भने केपी शर्मा ओलीले गरेका छन् । कतिपयले यसलाई संयोग मानेका छन् ।

यस्तै लामिछानेलाई कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जी बोकेर सीआईबीमा कार्यरत एसपी होविन्द्र बोगटीको टोलीले पक्राउ गरेको हो ।

लामिछानेलाई पहिलोपटक पक्राउ गर्न पनि बोगटी नै खटिएका थिए । लामिछाने पहिलोपटक २०७६ साउनमा पक्राउ परेका थिए । त्यतिबेला पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन प्रकरणमा उनी पक्राउ परेका थिए ।

त्यो बेला बोगटी काठमाडौं प्रहरी परिसरमा डीएसपीका रूपमा कार्यरत थिए । बोगटीकै टोलीले त्यतिबेला लामिछानेलाई पक्राउ गरेर चितवन प्रहरीलाई बुझाएको थियो ।

अर्को संयोग, त्यतिबेला पक्राउ परेका लामिछानेलाई राति नै गाडीमार्फत चितवन लगिएको थियो । आज पनि उनलाई स्थलमार्गबाट पोखरा लगिने भएको छ । प्रहरीसँग समन्वय भइरहेको बताउँदै उनले आफू सडकमार्गबाट पोखरा जाने धारणा राखेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार