व्यक्तिगत इगो साँध्न लामिछानेलाई पक्राउ गरियो: स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले रवि लामिछानेलाई डाम्नका लागि राजनीतिक पूर्वाग्रह राखेर पक्राउ गरिएको बताएका छन् ।

आज (शनिबार) पोखरामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले व्यक्तिगत इगो साँध्न लामिछानेलाई पक्राउ गरिएको बताएका हुन् । दुई दिन भएपनि जेल कोचेर छाड्छु भनेर रवि लामिछानेसँग वर्तमान सरकारले इगो साँधेको उनको आरोप छ ।

‘हामीलाई भरोसा छ, न्यायलय कार्यपालिकाका यी बदमास नेताहरुको प्रभावमा पर्नेछैन, दवाबमा पर्ने छैन । भेदभाव गर्नेछैन भन्ने आशा अन्तिम भरोसा हामीलाई छ । अनुसन्धानका लागि, केही दिनका लागि रविजीलाई हिरासतमा राखिएको छ । यो आवश्यक्ता थिएन । भर्खरै ८/९ घण्टा बयान दिएर आउनु भएको थियो । संसदीय प्रतिवेदनहरुमा पनि सबै लेखिएका छन् । तर, यिनीहरुलाई डाम्नु थियो, एक दिन भएपनि, दुई दिन भएपनि जेल कोचेरै देखाउँछु भनेर व्यक्तिगत इगो साँध्नका लागि यो हर्कत गरिएको कुरा घामजस्तै छर्लङ्ग छ,’ उनले भने ।

कानुनलाई बंग्याएर र अनेक दुराग्रहहरु राखेर लामिछाने र राजनीतिक अभियानलाई सकाउने दुस्प्रयास भइरहेको पनि उनले बताए । राजनीतिक हर्कतको आफूहरुले राजनीतिक रुपमै प्रतिकार गर्ने उनले बताए । गत उपनिर्वाचनमा चितवन र तनहुँबाट रास्वपाका उम्मेदवारलाई जनताले अनुमोदित गरेसँगै कांग्रेस–एमाले तर्सिएको उनको टिप्पणी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीमा शासकीय अहंकार र दम्भ रहेको उनले बताए । एमालेले व्यवसायी मिनबहादुर गुरुङबाट लिएको दाने जग्गाको विषय मोड्नलाई पार्टी सभापति लामिछानेलाई पक्राउ गरिएको उनको दाबी छ । नेता वाग्लेले अब ओली नेतृत्वको सरकारले मिनबहादुर गुरुङको मुद्दालाई निश्पक्ष रुपमा टुङ्ग्याउन नदिने ठोकुवा गरे ।

‘मीनबहादुर गुरुङले एक अर्बको घुस अहिलेको सत्ता हाँक्ने नेतामार्फत उनका पार्टीका अधिकांश नेताहरुलाई पनि थाहा नदिएर कीर्तिपुरमा करिब एक करोड मूल्यको, ६० करोड जतिको जग्गा, ३०/४० करोडको भवन बनाएर अर्को घटस्थापनामा त साँचो बुझाउँछु भनेका छन् । त्यो किन गरिराखेका छन् ? त्यो लेनदेनको आधार को हो ? मुद्दा चलिराखेको छ ।’ उनले भने, ‘ललिता निवास काण्डमा मुछिएको मान्छे, अहिलेका अर्थमन्त्री, अहिलेका सत्तारुढ दलका थुप्रै नेताहरु ८ आना, ९ आना, १२ आना सेटिङ मिलाइदिएवापत दिइएको यिनीहरुलाई यी धनाड्य मीनबहादुर गुरुङ । अब तपाईँलाई लाग्छ, केपी ओलीले मिनबहादुरको मुद्दा अगाडि बढाउँछन् ?’ 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार