एमालेको पार्टी कार्यालय बनाउन माओवादीको चन्दा अभियान सुरु

नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) एमाले केन्द्रीय कार्यालय भवन बनाउन १ रुपैयाँ संकलन अभियान चलाएको छ ।

आज (आइतबार) देखि अखिल (क्रान्तिकारी) क्याम्पस जिल्ला र प्राविधिक जिल्ला कमिटीले सो अभियान सुरु गरेको हो । अमृत साइन्स कलेज (अस्कल क्याम्पस) स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्षसमेत रहेका विद्यार्थी नेता प्रेम जैशीका अनुसार एमालेले भ्रष्टाचार गरेको जग्गामा केन्द्रीय कार्यालय बनाउन लागेकाले प्रतिकात्मक रुपमा यो अभियान चलाइएको हो ।

‘एमालेले मिनबहादुर गुरुङले दिएको जग्गामा केन्द्रीय कार्यालय बनाउँदैछ । त्यो भ्रष्टाचार हो । हामीले एमाले केन्द्रीय कार्यालय बनाउन सहयोगार्थ एक रुपैयाँ संकलन अभियान चलाएका हौं । संकलित रकम हामी एमाले पार्टी कार्यालय बनाउनका लागि बुझाउने छौं,’ जैशीले भने ।


एमालेले पार्टी केन्द्रीय कार्यालय बनाउन व्यवसायी मिनबहादुर गुरुङबाट १० रोपनी १४ आना जग्गा दान लिएको थियो । केपी शर्मा ओली प्रधानमन्त्रीको हैसियतमा रहेको बेला बालुवाटार जग्गा प्रकरणमा मुछिएका मिनबहादुरसँग लिइएको उक्त जग्गालाई धेरैले घुसको संज्ञा दिएका छन् ।

एमाले र प्रधानमन्त्री ओलीले नाङ्गो नाच गरेर देशमा भ्रष्टाचार गरिरहेको विद्यार्थी नेता जैशीको आरोप छ । पार्टी कार्यालय निर्माणका निमित्त विभिन्न माफियाहरुसँग साँठगाँठ गर्ने, जनताको जनजिविकाको पक्षमा नबोल्ने एमालेको नेतृत्वविरुद्ध आफूहरु सडकमा आएको उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार