साविक विजेता बंगलादेशविरुद्ध पाकिस्तानको अग्रता

साफ महिला च्याम्पियनसिप–२०२४ मा साविक विजेता बंगलादेशविरुद्ध पहिलो हाफमा पाकिस्तानले अग्रता बनाएको छ ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा पाकिस्तानलाई जमिना समिन मलिकले अग्रता दिलाइन् । खेलको ३२औँ मिनेटमा बंगलादेशी रक्षक अफिदा खान्डाकेरबाट भएको गल्तीको फाइदा उठाउँदै पाकिस्तानले अग्रता बनाएको हो ।

मैदानको मध्यभागबाट रमिन फरिदले निकालेको लामो क्रसलाई अफिदाले क्लियर गर्न सकिनन् । सोही बल नियन्त्रणमा लिँद मलिकले बंगलादेशी गोलकिपरलाई सहजै बिट गरिन् । 

यसबाहेक, खेलको अधिकांश समय बलमाथि नियन्त्रण भने बंगलादेशले बनाएको थियो । ४३औँ मिनेटमा रितु पोर्ना चक्माको प्रहार बारमा लागेर फर्किँदा बंगलादेश खेलमा फर्किन सकेन ।

पाकिस्तानलाई सेमिफाइनल सम्भावना कायम राख्न आज जितको दबाब छ । पाकिस्तान यसअघि समूहको पहिलो खेलमा भारतसँग ५–२ ले पराजित भएको थियो । यता, बंगलादेशको भने यो पहिलो खेल हो ।

यसअघि, सन् २०२२ मा बंगलादेशले दशरथ रंगशालामै पहिलोपटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार