चेल्सीलाई हराउँदै लिभरपुल पुनः शीर्ष स्थानमा

चेल्सीविरुद्ध २–१ को कठिन जित निकाल्दै लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति घरेलु मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुललाई जित दिलाउन मोहम्मद सालाह र कर्टिस जोनसले गोल गरे । चेल्सीका निकोलस ज्याक्सनले गोल फर्काए पनि हार टार्न सकेनन् । 

खेलको २९औँ मिनेटमा सालाहले पेनाल्टीमा गोल गरेपछि पहिलो हाफमा लिभरपुलले १–० को अग्रता बनाएको थियो । ४८औँ मिनेटमा ज्याक्सनले गोल गरेपछि घरेलु समर्थकमाझ पाहुना टिम खेलमा फर्किएको थियो । तर, त्यसको तीन मिनेटपछि जोनसले निर्णायक गोल गरेपछि लिभरपुलले तीन अंक जोड्दै शीर्ष स्थानमा पुनः कब्जा जमाएको हो । 

यसअघि, आइतबार नै भएको खेलमा वुल्भ्सविरुद्ध २–१ को जित निकाल्दै साविक विजेता म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको थियो । तर, त्यसको केही घण्टापछि नै लिभरपुल पुनः शीर्ष स्थानमा उक्लिएको हो ।

डच प्रशिक्षक आर्ने स्लटको प्रशिक्षणमा खेलेका ११ खेलमध्ये लिभरपुलको यो १०औँ जित हो ।

जितसँगै लिभरपुलले आठ खेलबाट २१ अंक जोडेको छ । समान खेलबाट २० अंकसहित सिटी दोस्रो स्थानमा छ । आठ खेलबाट १४ अंक जोडेको चेल्सी भने तालिकाको छैटौँ स्थानमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार