पूर्व सैनिक विस्फोटक पदार्थसहित पक्राउ

स्याङ्जाको चापाकोट नगरपालिका ४ का नेपाली सेनाबाट अवकाश गोविन्द पुरी विस्फोटक पदार्थ सहित पक्राउ परेका छन् ।

दुई वर्ष अगाडी नेपाली सेनाबाट अवकाश भएका ४५ वर्षीय पुरीको घरबाट ठुलो मात्रमा विस्फोटक पदार्थ सहित पक्राउ परेका हुन् । शनिबार घरको तेस्रो तलाबाट दोस्रो तलामा भाडाँहरु सार्नेक्रममा सकेट बम विस्फोट भएर पुरी घाइते भएका थिए ।

एक्कासी घरमा भाडाँवर्तन सार्नेक्रममा सकेट बम पड्किएर पुरी घाइते भएको खबर इलाका प्रहरी कार्यालय चापाकोटलाई पुगेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरीले विस्फोटबाट घाइते भएका पुरीलाई थप उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा पठाएको थियो । उपचारपछि अस्पतालले पुरीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको भन्दै घरमा पठाएसँगै प्रहरीले थप अनुसन्धान गर्न उनलाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि पौडेलले जानकारी दिए ।

शनिबार साँझ विस्फोट भएपछि सकेट बम हो वा अन्य कुनै वस्तु हो भन्ने विषयमा घटनास्थलमा पुगेर अनुसन्धान नगरेसम्म जानकारी दिन नमिल्ने जनाएको प्रहरीले आइतबार घटनास्थल पुगेर अनुसन्धान गरेको थियो । प्रहरी र नेपाली सेनाको विशेष टोलीले अनुसन्धान गर्दा विस्फोटक पदार्थ विस्फोट भएको जनाएको छ । पुरीको घरबाट थप ठुलो परिणाममा विस्फोटक पदार्थ फेला पारेको डिएसपी पौडेलले बताए । उनका अनुसार पुरीको घरबाट विस्फोट नभएको ९ सय ग्राम बारुद, डेटकड २ थान, जङ्गी राउन्ड १ थान र खाली खोका २ थान बरामद गरिएको जानकारी दिए ।

अवकाश प्राप्त नेपाली सेना भएकाले बम बनाउने बारुद सहित अन्य विस्फोटक पदार्थ कहाँबाट ल्याएका हुन् भन्ने विषय अनुसन्धान पछि खुल्ने प्रहरीले जनाएको छ । पुरीको विस्फोटबाट दायाँ आँखा भन्दा मुनी, बायाँ खुट्टा र नाइटो भन्दा तल चोट लागेको थियो । उनको अवस्था अहिले सामान्य रहेको र इलाका प्रहरी कार्यालय चापाकोटले नियन्त्रणमा लिएर राखेको बताइएको छ । घाइते भएका पुरी सुनवलमा बस्दै आएको र दसैँमा टिका लगाउन घरमा आएका थिए । उक्त घरमा पुरीका बुवा आमा मात्रै बस्दै आएको बताइएको छ ।

विस्फोटक पदार्थ आफैले राखेको ठहर भएमा पुरीलाई विस्फोटक पदार्थ सम्बन्धी मुद्दा दर्ता गरी कारबाही अगाडी बढ्ने प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार