ड्रागन फ्रुटसँगै सयपत्री फूलको खेती

फल लाग्ने अवस्थाको ड्रागन फ्रुटको बोट र त्यससँगै रोपिएको सयपत्रीको फूलले बारी पहेँलपुर छ । मन्थली नगरपालिका–५ सुनारपानीका रामबहादुर शाहीले बनमाराले भरिएको जग्गामा खनजोत गरी सुरु गरेको ड्रागन फ्रुट र सयपत्री फूलको खेती हेर्न त्यहाँ पुग्ने जो कोही पनि लोभिन्छन् । 

पाँच रोपनीमध्ये तीन रोपनीमा उनले ड्रागन फ्रुट मात्रै लगाएका छन् । बाँकी दुई रोपनीमा ड्रागन फ्रुटसँगै सयपत्रीको पनि खेती गरिरहेका छन् । तिहार सुरु हुने समयमा झपक्कै फूलेका सयपत्रीले त्यहाँको दृश्य मनमोहक बनाइदिएको छ । 

लामो समयदेखि बनमारा मात्रै उम्रिएको जग्गामा दुई वर्षअघि शाहीले ड्रागन फ्रुट लगाउने निर्णय गरेका थिए । सुरुमा तीन सय बोट ड्रागन फ्रुट रोपेका उनले त्यससँगै सयपत्री फूल पनि रोपे । एउटै जग्गाबाट अहिले उनले दोहोरो लाभ लिएका छन् । उनले सयपत्रीबाहेक विभिन्न प्रजातिका विरुवा उत्पादन गर्न नर्सरीको समेत व्यवस्था गरेको बताए । 

उनले भने, “लामो समयदेखि काठमाडौंमा फूलको नर्सरी सञ्चालन गरेको थिएँ, त्यही अनुभवका आधारमा यहाँ पनि फूल र विभिन्न विरुवाको नर्सरी सुरु गरेको हुँ ।” आफ्नै गाउँमा केही गरौँ र स्थानीय किसानलाई सहयोग गर्नुपर्छ भन्ने सोचले आफूले यहाँ खेती सुरु गरेको उनको भनाइ छ । 

शाहीलाई नगरपालिकाबाट पनि सहयोग प्राप्त भइसकेको छ । फूल खेतीका लागि नगरपालिकाले एक लाख अनुदान उपलब्ध गराएको नगर कार्यपालिकाका सदस्य एवं वडा नं ५ का अध्यक्ष रबिन कार्कीले जानकारी दिए ।  

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाद्वारा मन्थलीमा सञ्चालित जुनार जोन कार्यक्रममार्फत कागतीका विरुवा उत्पादनका लागि पाँच लाख अनुदान लिएको परियोजनाका कार्यालय प्रमुख थिरलाल गैरेले बताए । 

आफ्नो कम्पनी भदौरे कालिका कृषि तथा पशु पंक्षी फार्मले परियोजनामार्फत अनुदान प्राप्त गरेको र यसले काम गर्न हौसला मिलेको शाहीको भनाइ छ । 

उनले उत्पादन गरेको सयपत्री फूल सदरमुकाम मन्थलीदेखि दोलाखा, सिन्धुलीदेखि काठमाडौंसम्म जाने गरेको छ । उनले ड्रागन फ्रुट प्रतिकिलो ३५० र सयपत्री फूल प्रतिकेजी २५० रुपैयाँमा बिक्री सुरु गरेका छन् । 

यस वर्षको तिहारमा उनले सयपत्री बिक्रीबाट तीनदेखि पाँच लाखसम्म आम्दानी गर्ने योजना बनाएका छन् । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार