ग्लोबल आइएमई बैंक–प्राइम पावर सम्झौता, सौर्य विद्युत् परियोजनामा कर्जा लगानी गर्ने 

ग्लोबल आइएमई बैंक र प्राइम पावरबीच सौर्य विद्युत् परियोजनामा कर्जा लगानी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्राइम पावरका अध्यक्ष आशीष गर्गले हस्ताक्षर गरे ।

सम्झौताअनुसार प्राइम पावरले कपिलवस्तुमा ३० मेगावाट क्षमताको सौर्य विद्युत् परियोजना निर्माण गरी सञ्चालन गर्नेछ । प्राइम पावरका अध्यक्ष गर्गले परियोजनाद्वारा उत्पादित विद्युत् खरिदका साथै चनौटास्थित सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्न विद्युत् प्राधिकरणसँग सम्झौता भइसकेको जानकारी दिए ।

परियोजनामा संलग्न लगानीकर्ता समूहद्वारा विभिन्न ५ सौर्य परियोजनाअन्तर्गत ५६ मेगावाट कुल जडित क्षमताको आयोजनामा समेत लगानी रहेकाले यो समूह सौर्य ऊर्जा क्षेत्रमा नेपालकै अग्रणी बनेको छ ।

नेपालमा सञ्चालित सौर्य आयोजनामध्ये यो सौर्य ऊर्जाअन्तर्गत विद्युत् क्षेत्रको सबैभन्दा ठूलो क्षमताको परियोजना हो । बैंकले नवीकरणीय र हरित ऊर्जा उत्पादन, प्रसारण तथा वितरणमा लगानी प्रवर्द्धन गर्ने उद्देश्यअनुरुप सौर्य तथा जलविद्युतमा सर्वसुलभ ब्याजदरमा कर्जा लगानी गर्दै आएको छ ।

हाल बैंकले ३५४ शाखा, ३८४ एटिएम, २५५ शाखारहित इकाइ, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट बैंकिङ सेवा दिँदै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार