अदालतको आदेशपछि पनि वडाध्यक्ष फागो कार्यवाहक मेयरकै कुर्सीमा

वडाध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिने हर्क साम्पाङको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतले दिएको आदेशलाई वडाध्यक्ष लोकेन्द्रकुमार फागोले अटेर गरेका छन् । उनले सोमबार पनि कार्यवाहककै रूपमा कामकारबाहीलाई निरन्तरता दिएका छन् ।

आइतबार उच्च अदालतले वडाध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिने मेयरको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो । र, मंगलबार दुवै पक्षलाई बोलाएको थियो ।

वडाध्यक्ष फागोले अदालतको पत्र अझै आइनसकेकाले आफू अझै कार्यवाहक मेयरकै जिम्मेवारीमा बसेको बताए । ‘अदालतले परिपत्र गरेपछि छोड्नुपर्छ, तर पत्र आएपछि छोड्नेगरी बसेको छु,’ उनले भने, ‘पत्र आएको छैन्, मैले पनि त्यही प्रतिक्षा गरिरहेको छु ।’

उनले मेयरको कार्यकक्षमा छुट्टै टेबल कुर्सी राखेर कार्यवाहकको जिम्मेवारी निभाए । फागोले अदालतबाट आएको पत्रसमेत बुझ्न नमानेको बताइएको छ । उनले आज पनि कार्यवाहकको हैसियतमा दुई वटा फाइल अघि बढाए ।

दुई साताका लागि बेलायत गएका मेयर हर्कराज राईले कार्यबहाकको जिम्मेवारी उपमेयर आइन्द्रविक्रम बेघालाई नदिएर धरान–११ का वडाध्यक्ष लोकेन्द्र फागोलाई दिएका थिए ।

आफू हुँदाहुँदै बाइपास गरेर वडाध्यक्षलाई कार्यवाहक दिएर साम्पाङ बेलायत उडेपछि उपमेयर बेघा कात्तिक ४ गते अदालत पुगेका थिए । मुद्दाको अर्को सुनुवाइ भोलि रहेको छ ।

कार्यवाहक दिइएका वडाध्यक्ष फागो साम्पाङका मामा ससुरासमेत हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार