सरकार आफ्ना बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी ‘हान्ने’ खेलमा लाग्यो : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार आफ्नालाई बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लागेको आरोप लगाएका छन् ।

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको वाग्मती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरुको संयुक्त बैठकमा उनले त्यस्तो टिप्पणी गरेका हुन् । बैठकले कात्तिक १० गते काठमाडौंमा गर्ने जनप्रदर्शन र खबरदारीसभाको तयारीका लागि बसेको हो । 

हिजो मात्रै विपक्षी दलहरुको तर्फबाट बालुवाटारमा ज्ञापनपत्र बुझाउन गएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको संवाद सुनाउँदै उनले सरकार प्रतिपक्षीलाई खोजीखोजी हान्नेमा रहेको सुनाए ।

“मैले स्पष्टसँग भनेको थिएँ, तपाइँ र हामीमा फरक के भयो भने हामीले के माओवादी, के कांग्रेस, के एमाले कुनै दल नहेरेर गल्ती गरेको छ भने सबैलाई कानुनबमोजिम ल्याउनुपर्छ भनेर लाग्यौँ । तर तपाइँहरुले कांग्रेस र एमालेका नेताले गल्ती गरेको छ्याङै देख्दा पनि बचाउनु भएको छ । आफ्नो राजनीतिक प्रतिद्वन्द्वी देख्नुभयो भने खोजीखोजी हान्नु भएको छ,” प्रचण्डले भने ।

सरकारले एकपछि अर्को नाजाजय हर्कत गर्दै जाँदा जनतामा सरकारविरोधी भावना बढ्दै गएको टिप्पणी उनको छ । प्रचण्डले दल विभाजनसम्बन्धि अध्यादेश ल्याउने सरकारको षड्यन्त्र जारी नै रहेको दाबी गरे । 

“दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने षड्यन्त्र जारी नै छ । यी सबै षड्यन्त्रविरुद्ध सशक्त खबरदारी जरुरी छ,” उनले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार