मितेरी सहकारी प्रकरण : ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार

ललितपुर महानगरपालिका–५ स्थित महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न ज्योति गुरुङ ‘रेड नोटिस’ जारी गर्न प्रहरीले इन्टरपोललाई पत्राचार गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को सिफारिसमा नेशनल सेन्ट्रल ब्युरो (एनसीबी)ले इन्टरपोलको महासचिवालयमा पत्राचार गरेको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले जनाएको छ ।

एक उच्च प्रहरी अधिकृतका अनुसार मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनबारे सीआईबीले अनुसन्धान गरिरहेको छ ।

कांग्रेस नेता धनराज गुरुङकी पूर्वपत्नी ज्योति उक्त सहकारीको प्रबन्ध निर्देशक थिइन् । त्यस्तै सहकारीका ज्योति भण्डारीविरुद्ध पनि रेड नोटिस जारी गर्न प्रहरीले इन्टरपोललाई पत्राचार गरेको छ । बर्दिया घर भएका ज्योति भण्डारीले पनि सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको भेटिएको छ । भण्डारी कम्बोडियामा लुकेको आशंका गरिएको छ ।

उनले रकम लगेर ऋण फिर्ता नगरेको सहकारीका सञ्चालकहरू बताउँछन् । सहकारीको रकम अपचलन गरेको आरोपमा ज्योति गुरुङ, ज्योति बहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश यादवविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

उनीहरूले १२ करोड ५१ लाख हिनामिना गरेको आरोप छ । धनराज गुरुङ र ज्योतिले २०७६ फागुन २९ मा ललितपुर जिल्ला अदालतबाट सम्बन्ध विच्छेद गरेको भेटिएको छ ।

सहकारीका सञ्चालक समिति सदस्य बोधविक्रम थापाले सीआईबीमा जाहेरी दिएका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार