शुक्रबारदेखि निश्चल र स्वस्तिमाको फिल्म ‘बेहुली फ्रम मेघौली’ ओटीटीमा हेर्न पाइने

निश्चल बस्नेत र स्वस्तिमा खड्काको फिल्म ‘बेहुली फ्रम मेघौली’ को ओटीटी प्रदर्शन मिति तोकिएको छ । यो फिल्म आउँदो शुक्रबार अर्थात् कार्तिक ९ गतेबाट एमएसएम भिडिओमा स्ट्रिमिङ हुनेछ ।

स्वस्तिमाले एक पोस्टर सेयर गर्दै रिलिज मितिबारे जानकारी दिएकी हुन् । एमएसएम भिडिओ गुगल प्ले र प्ले स्टोर एपमा उपलब्ध छ । दर्शकहरूले डाउनलोड गरेर यसलाई प्रयोग गर्न सक्छन् ।

यद्यपि, यो फिल्म अमेरिका, जापान, क्यानडा र सिंगापुरमा भने एपमा उपलब्ध हुने छैन । यी देशहरूमा हलमै रिलिज भइराखेकाले तत्काल ओटीटीमा नआउने निश्चले बताए ।

घटस्थापनाको अवसरमा असोज १७ गतेबाट रिलिज भएको यस फिल्मले दर्शकहरुबाट राम्रो प्रतिक्रिया बटुलेको थियो । पहिलो साताभर साढे तीन करोड कमाएको थियो । तर, दोस्रो साता तीन स्वदेशीसहित एक विदेशी फिल्म हुँदा प्रयाप्त शो पाउन सकेन ।

कम शो पाएपछि निश्चलले सामाजिक सञ्जालमा आफ्नो फिल्ममा अकुपेन्सी हुँदा पनि हिन्दी सिनेमा आएपछि हलवालाले सो घटाएको भन्दै असन्तुष्टि पोखेका थिए । निश्चल र स्वस्तिमाको मुख्य भूमिका रहेको फिल्मको कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार