२० लाख भारतीय रकमसहित दुई जना पक्राउ

प्रहरीले कपिलवस्तुबाट २० लाख भारतीय रुपैयाँभन्दा बढी रकमसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

महाराष्ट्र प्रदेशको राइगढ जिल्ला मुम्बईसिटीका ३३ वर्षीय सलमान कुरेसिया र सोही ठाउँका ३९ वर्षीय उमेशसखाराम खंडागले पक्राउ परेको प्रहरीले जनाएको छ । कृष्णनगर नगरपालिका वडा नम्बर २ स्थित लिंक गेटमा सोमबार बेलुकी पौने ९ बजेतिर उनीहरू पक्राउ परेका थिए । दुवैले रकमको स्रोत खुलाउन नसकेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कपिलवस्तुका प्रहरी प्रवक्ता डिएसपी मोहनमणि अधिकारीका अनुसार नेपाल प्रवेश गरिरहेका बेला उनीहरूको साथबाट सवारी चेकजाँचका क्रममा साढे २० लाखभन्दा बढी रकम बरामद भएको थियो । उनीहरू बेग्लाबेग्लै भारतीय नम्बर प्लेटका भाडाका गाडीबाट नेपाल प्रवेश गरेका थिए ।

यूपी ४५ एएस ६६६३ नम्बरको गाडीमा सवार सलमान कुरेसियाको झोलाबाट ८ लाख र यूपी ४२ डिटी ५७२१ नम्बरको भाडाका गाडीमा सवार उमेश सखाराम खंडागलेको झोलाबाट साढे १२ लाख स्रोत नखुलेको नगद बरामद भएको डिएसपी अधिकारीले बताए ।

उनीहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार