गढीमाईमा पञ्चवर्षीय मेला मंसिर १७ गतेदेखि ३० गतेसम्म हुने

गढीमाई पञ्चवर्षीय मेला मंसिर १७ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने भएको छ ।

बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ बरियापुरमा रहेको गढीमाईमा पञ्चवर्षीय मेला हुन लागेको हो ।

दसैंको घटस्थापनाका दिन पूजा गरेसँगै मेला सुरू भएको मानिन्छ । आउँदो मंसिर १७ गतेदेखि ३० गतेसम्म भने यहाँ लाखौं भक्तजनहरू आउने मेला व्यवस्थापन समितिले जनाएको छ । मेला व्यवस्थापन समितिका अध्यक्ष महागढीमाईका मेयर उपेन्द्रप्रसाद यादव छन् ।

मेला प्रचारप्रसार समितिका नितेशकुमार गुप्ताले दिएको जानकारीअनुसार गढीमाईप्रति आस्था राख्ने नेपाल र भारतका भक्तजनहरू मेलामा आउनेछन् ।

मेलाको शुभारम्भ मंसिर १७ गते हुने, विशेष पूजा मंसिर २३ गतेदेखि २५ गतेसम्म हुने र मेला विसर्जन मंसिर ३० गते हुने आयोजक समितिले जनाएको छ ।

गढीमाईमा विशेष पूजाका लागि पाँच सय रुपैयाँ शुल्क तोकिएको छ । यो शुल्कबाट पूजारी राख्ने र सरसफाइलगायत कार्य व्यवस्थापन गरिने समितिको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार