आयातमा चार प्रतिशत बढीको संकुचन, तीन महिनामा साढे ३८ अर्बको निर्यात

चालु आर्थिक वर्षको तीन महिनामा ३ खर्ब ९० अर्ब ७५ करोड २३ लाख २१ हजार रुपैयाँ आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा यो ४.१७ प्रतिशतले कमी हो ।

गत आवको तीन महिनामा नेपालमा ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख ७५ हजार रुपैयाँको वस्तु तथा सेवा आयात भएको भन्सार विभागले जनाएको छ ।

भन्सार विभागका अनुसार यस वर्ष असोजमा भदौको दाँजोमा समेत कम वस्तु आयात भएको छ । भदौ मसान्तसम्म एक प्रतिशतले बढेको आयात असोज महिनामा उल्लेख्य कमी आएको विभागको तथ्यांकले देखाएको छ ।

यस वर्ष साउनमा १ खर्ब २८ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो । भदौमा केही बढेर १ खर्ब ३४ अर्ब रुपैयाँसम्म पुग्यो । असोजमा सामानको आयात घट्न गयो । जुन १ खर्ब २८ अर्बमा सीमित भयो । यसो हुनुमा असोज दोस्रो साता आएको वर्षा र बाढीपहिरोको समेत हात रहेको व्यापारी बताउँछन् ।

विभागका अनुसार चालु आवको तीन महिनामा आयात मात्रै नभएर निर्यात समेत घटेको छ । असोज मसान्तसम्म निर्यात ६.११ प्रतिशतले घटेर ३८ अर्ब ३७ करोड ८७ लाख १७ हजार रुपैयाँमा सिमित भएको छ । गत आवको सोही अवधिमा ४० अर्ब ८७ करोड ४८ लाख ९१ हजार रुपैयाँको निर्यात भएको थियो । समग्र अन्तर्राष्ट्रिय व्यापार करिब १९ अर्ब रूपैयाँले घटेको छ।

असोज मसान्तसम्म व्यापार घाटा ३ खर्ब ५२ अर्ब ३७ करोड ३६ लाख ४ हजार रुपैयाँ रहेको छ । असोज मसान्तसम्म नेपालको वैदेशिक व्यापार ४ खर्ब २९ अर्ब १३ करोड १० लाख ३८ हजार रुपैयाँ पुगेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार