सहकारी ठगहरु कानुनको दायरामा ल्याइँदैछ, बचकर्ताको रकम पनि फिर्ता गर्छौं : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगविरुद्धको कारबाही अघि बढेको बताएका छन् । बुधबार सरकारको सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले जोसुकै भएपनि सहकारी ठगलाई कारबाही गर्ने प्रतिबद्धता कार्यान्वयन सन्तोषजनक रहेको बताएका हुन् ।

“सहकारीमा ठगीमा संलग्न जो कसैलाई कारबाही गर्छौं भनेका थियौँ । अहिले सहकारी ठगहरूलाई कारबाही प्रक्रिया अघि बढेको छ,” ओलीले भने, “६०० बढीलाई कारबाही प्रक्रिया अघि बढाएकामा ५७५ जना थुनामा छन् ।”

उनले सहकारी ठगलाई कारबाही मात्रले सरकारको दायित्व पूरा नहुने भएकाले बचतकर्ताको रकम पनि फिर्ता गराउने आश्वासन दिए । “सहकारी ठगलाई कारबाही गर्ने मात्र होइन, बचतकर्ताको रकमसमेत फिर्ता गरिने छ,” ओलीले भने ।

उनले भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिन्को हल्लाबाजी र सुटिङ गरेर देखाउने विषय बन्न नहुने भएकाले यसले सुशासनको प्रणालीका रुपमा गति लिनु पर्छ भन्नेमा सरकार स्पष्ट रहेको उल्लेख गरे ।

‘भ्रष्टाचार नियन्त्रणमा सरकारले क्यामेरालाई होइन, कानुनलाई गुरु मानेको छ । ‘भ्रष्टाचारी समातियो’ भन्ने केही समय हल्ला मच्चिने, तर परिणाममा भ्रष्टाचार बढ्दै जाने खालको अवस्था होइन, परिणाममा भ्रष्टाचार नियन्त्रण हुने कानुनी प्रणाली स्थापित हुने पद्दति बसाल्ने हाम्रो प्राथमिकता छ’, उनले भने, ‘भ्रष्टाचारका कसुरमा फस्ने त्रास र त्यसबाट उम्किने आकांक्षा, भ्रष्ट र भ्रष्टाचारका मतियार जोगाउने उद्देश्यका साथ देशमा अस्थिरता र अराजकता फैलाउन खोज्ने तत्वहरु सक्रिय रहेको हामीले देखिरहेका छौं ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार