सुस्ताको सास्ती

‘हमहनके नेपाली हइन, लेकिन हमनके नागरिकता नहीँ बा। नहीँ हमनके लालपुर्जा बा । नागरिकता लेके हमनके मरेके मन बा लेकिन खै काहुई कौनो पता नही बा’ अर्थात ‘हामी नेपाली भए पनि नागरिकता छैन । अनि लालपुर्जा पनि । नागरिकता लिएर मर्न मन छ । के हुन्छ खै हेरौँ ।’

यो गुनासो हो, पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५, सुस्ता गाउँका स्थानीय इन्द्रजित लोनियाको । उमेरले पनि ७० वर्ष नाघिसक्यो। नागरिकता कुर्दाकुर्दै उमेर पनि ढल्किसक्यो ।

अझै पनि पाइन्छ कि भन्ने आशा मरेको छैन उनको छ । उनीसँग लालपुर्जा पनि छैन । यसले पनि उनलाई पिरोलिरहन्छ । ‘लालपुर्जा र नागरिकता पाए त मर्ने बेलामा पनि शान्तिले सास जान्थ्यो कि’, उनी भन्छन् ।

जीवन कष्टकरमै बितेको उनी सुनाउँछन् । भन्नेबित्तिकै सीमा कटेर भारत आवतजावत गर्न सहज त्यति नहुने र नेपाल जोड्ने पुल समेत नहुँदा निकै सास्ती भोग्नुपरेको उनको गुनासो छ । ‘यहाँ वर्षौँदेखि बिजुली थिएन, अन्धकारमा नै बित्यो, अहिले त हाम्रो बस्ती झलमल भएको छ,’ केही खुसीको भावमा उनी भन्छन्, ‘अहिले त सुस्तामा पुल पनि बनिसक्यो, अब केही हुन्छ कि ?’

यसअघि नवलपरासी (पश्चिम) स्थित नारायणी नदीमा गाउँ पुल थिएन । सुस्तामा पुल नहुँदा ज्यानै जोखिममा राखेर वारपार डुंगामा वारपार गर्नुपर्दा गुजारा गर्न नै गाहे हुने गरेको अनुभव सुनाउँछिन् सुस्ताकै मराक्षीदेवी लोनिया ।

‘यहाँ हामी उखु रोप्थ्यौँ तर बिक्दैनथ्यो । डुंगाबाट वारपार गर्दा लड्ने डर हुन्थ्यो, भारतले पनि हाम्रो उखु किन्दैनथ्यो,’ उनी सुनाउँछन्, ‘धेरै गाह्रो भएको थियो । बल्ल पुल बन्यो, अब त पहिला जस्तो सास्ती नहोला ।

केही वर्ष पहिले डुंगा पल्टेरै उनको देवरको ज्यानै गएको थियो । त्यसपछि डुंगामा नदी वारपार गर्न उनलाई सधैँ डर लाग्ने गर्दछ । ‘त्यसपछि म त पारी नेपालसम्म नै जान डर मान्थेँ । केही पर्‍यो भने भारत जाने हो,’ उनी भन्छिन्, ‘अब त पुल बनेको छ, पुल तरेर पारी नेपाल जानेछौँ ।’

मनभरि नेपालको माया छ तर नेपाली भन्ने प्रमाण छैन उनीसँगै । पुल बनेपछि खुसीले गद्गद् भएकी लोनियालाई अब नागरिकता पाए हुन्थ्यो भन्ने लाग्छ । 

गत असोज १० गते राष्ट्रपति रामचन्द्र पौडेल सुस्ता पुग्नु भइ झोलुंगे पुलको उद्घाटन गरिरहँदा सुस्तावासीले आफ्नो वर्षौँदेखिको सपना पूरा भएको अनुभव गरिरहेका थिए । अब आफूहरुले नागरिकताको विषयमा भोग्नुपरेको सास्तीको विषयमा राष्ट्रपतिले केही बोल्दिए हुन्थ्यो भन्ने आशा बोकेर कार्यक्रमस्थल आइपुग्नुभएको थियो, लोनिया ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भने, ‘ढुक्क हुनुस् तपाइँहरुलाई नागरिकता र लालपुर्जा दुबै दिन्छौँ ।’ उपस्थित सर्वसाधारणहरुबाट खुसीले गडगडावट रुपमा बेस्सरी ताली बजेको थियो । 

लोनियालाई नेपाली भाषा बोल्न आउँदैन । बुझ्न पनि बुझ्दिनन् । भन्छिन्, ‘हमरा सरकार काकहत बानी, हमके सम्झादेइ। अर्थात हाम्रो सरकारले के भन्नुभएको हो ? मलाई बुझाइदिनुस् त ।’ छेउमै बसेका इन्द्रजित लोनियासँग सोध्छिन् उनी। जवाफमा इन्द्रजित भन्छन्, ‘नागरिकता देहेके कहत बानी अर्थात नागरिकता दिन्छु भन्नुहुन्छ,’

अनि मुसुक्क मुस्कुराउँछिन् लोनिया । सायद वर्षौँदेखि नपाएको नागरिकता अब पाइन्छ कि भन्ने विश्वासले होला । उनी भन्छिन्, ‘हमार सरकार हमन्के यहाँ आइलबानिजा । हमन्के बहुत खुसी बानिजा । हमन्के लिए बहुत अच्छा काम कइलिजा । विद्युत भि ल्यान  देहनी जा । पुल भी बना देहनी जा । हमनके बहुत खुसी बानिजा । हमन्के लिए नागरिकता और लालपुर्जा मिल्जातते और खुसी होतिजा ।’

अर्थात ‘हाम्रो सरकार पनि यहाँ आउनुभएछ । हामीलाई धेरै खुसी लागेको छ । हाम्रो लागि राम्रो काम गर्दिनुभयो । विद्युत पनि ल्याइदिनुभएको छ । पुल पनि बनाइदिनुभएको छ । हामी धेरै खुसी छौँ । हाम्रो लागि नागरिकता र लालपुर्जा दिलाइदिनुभयो भने अझै धेरै खुसी हुन्थ्यौँ ।’

सुस्ता क्षेत्रसमेतको संसदमा प्रतिनिधित्व गर्ने विनोद चौधरी नवलपरासी पुग्नेबित्तिकै उनलाई घेरा हाल्नेको भीड हुने गर्छ । कोहीले नागरिकता, कोहीले लालपुर्जा, कोहीले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रका समस्याहरु व्यक्त गर्दै थिए सांसद चौधरीसँग ।

‘सरकार हमन्के दुः ख बुझ्देहन जा नाही नाही कहिके मिलि अर्थात सांसदज्यू हाम्रो दुःख बुझ्दिनु है। हुन्न नभन्नु होला ।’ बिधौती हरिजनले सांसद चौधरीलाई गरेको आग्रह हो यो । ‘ठीक हे चिन्ता मत करे । निचिन्त रहिए, मैँ आपके साथ हुँ अर्थात हुन्छ । चिन्ता नगर्नुस् । ढुक्क हुनुस् म तपाईँहरुकै साथमा छु’ सांसद चौधरीले आश्वासन दिए ।

सांसद चौधरी भन्छन्, ‘उहाँहरुको मागलाई संसदसम्म पुर्‍याउनेछु, ठेक्का सम्झौता भएर पनि लामो समयसम्म बन्न नसकेको सुस्ताको पुल मेरै पहलमा आज सम्पन्न भएर प्रयोगमा आएको छ । अरु समस्या बिस्तारै समाधान हुँदै जानेछ ।’

पुल बनेपछि अब त ज्यानै जोखिममा राखेर डुंगाको यात्रा गर्नुपर्ने दिन सकियो भनेर खुसी देखिनुहुन्छ, सुस्ताकै मीना चौधरी । ‘हामी नेपालसँग जोडिन पाएका थिइनौ, कहिले खोलामा भेल आउथ्यो पारी नेपाल जानै पाइँदैनथ्यो, रातिको समयमा डुंगा चल्दैनथ्यो’, उनी भन्छन्, ‘पुल बनेको छ, अब त हामीलाई पहिलाको जस्तो सास्ती छैन ।’

सुस्तालाई पनि अरु नेपालको भूमीलाई जस्तै माया गरेर सेवा सुविधाबाट बञ्चित नगराइदियोस् सरकारले भन्ने लाग्छ उनलाई। ‘हामी पनि त नेपाली नै हौँ, हामीलाई पनि शिक्षा स्वास्थ्य जस्ता सुविधा पाउने हक त छ नि,’ मीना भन्छिन्, ‘लामो समय अन्धरकारमै गुजारा गरेका थियौँ, अहिले झलमल बत्तीमा बस्न पाएका छौँ, अब चाहीँ अरु सास्तीबाट मुक्ति हुन पाए हुन्थ्योझैँ लाग्छ ।

रामवृक्ष चमारको पनि उही नै गुनासो छ । लालपुर्जा छैन । आफूले त कष्ट काटे पनि छोरी, नातिको पालामा सुख भइदिए पनि हुन्थ्यो झैँ लाग्छ । सुस्तामा जोडिएको पुलले केही आशा त जगाएको छ उनलाई ।

उनी भन्छिन्, ‘अहिले पुल बनेको छ, पारी ओहोरदाहोर गर्न पाइएको छ, अब अरु माग पनि पूरा होला कि भन्ने आशा छ ।’ अब लालपूर्जाहरु पनि समयमा नै पाउन पाए हुन्थ्यो झैँ लाग्छ उनलाई । नागरिकता नपाउँदा राज्यबाट पाउनुपर्ने कुनै पनि सुविधा पाउन नसक्दा अझै मन विचलित छ उनको । ‘हामी पनि नेपाली हौँ हामीलाई पनि नागरिकता चाहिन्छ भनेका छौँ’,चमार भन्छन् ।

नवलपरासी जिल्लाको भूमि आयोगका अध्यक्ष, देवराज भण्डारीले सुस्ता पारीको हकमा मात्रै लालपुर्जामा समस्या रहेको बताए । सीमा विवाद नटुंगिएसम्म समस्या रहेको र अन्तर्राष्ट्रिय सिमानासँग जोडिएका क्षेत्रमा छुट्टै ऐन लागु हुने भएकाले लालपुर्जाको समस्या समाधान गर्न चुनौती रहेको उनको भनाइ छ ।

‘नवलपरासी पश्चिमका २२ हजारसँग लालपूर्जा नै छैन, पश्चिम क्षेत्र नं. १ मा १४ हजार जानको हाराहारीमा लालपुर्जा छैन,’ उनी भन्छन्, ‘सांसद चौधरीको पहलमा जग्गा वितरण गर्ने कार्य सुरु भए पनि आयोग विघटन भएपछि काम रोकिएको छ ।’

उनका अनुसार लालपुर्जाको समस्या विषेशगरी सुस्ता गाउँपालिका, बर्दघाट नगरपालिकामा देखिएको छ । सम्पर्क तथा भू-आर्जन कार्यालय गण्डक योजना, वाल्मिकी नगर, नवलपरासीकी  सम्पर्क तथा भू-आर्जन आधिकृत कमला पराजुली (तिवारी) ले सुस्ताबासीले नागरिकता, शिक्षा, सुरक्षा, स्वास्थ्य, लालपूर्जा, रोजगारीलगायतका समस्या भोग्नुपरेको बताएका छन् ।

‘सुस्ता नेपाल-भारत सीमाको नजिक भएकाले, विवाह गरेर आउने र जाने चलन छ।  बसाइ सरेर आउनेको सङ्ख्या पनि छ,’ उनी भन्छन्, ‘सुस्तामा बस्ने सबै सर्वसाधारणले नागरिकता पाएका हुँदैनन् । अनि राज्यको सुविधाबाट बञ्चित हुनु परेको छ ।’

रामु ढकाल सखर स्थानीय व्यवसायी हुन् । सुस्ता उखुको राम्रो उत्पादन हुने ठाउँ हो। सुस्ताको उखु लैजान निकै कठिन हुने गरेको उनको भनाइ छ । ‘यहाँको उखु डुंगाकै भरमा लानुपर्थ्यो, डुंगा नै पल्टिन्छ कि भन्ने छर उस्तै थियो,’ उनी भन्छन्, ‘उखु नै नबिकेर कतिले त धान खेती लगाउन थालेका छन् । पुल बनेपछि अब उखु नबिक्ने सास्ती हट्नेछ यहाँ । हामी व्यापारीलाई पनि सहज रुपमा पारी पुर्‍याउन सकिन्छ ।’

सुस्ता बचाउका युवा अभियन्ता कमल बत्स्याल पनि सुस्तामा शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका समस्याहरु यथावत् रहेकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताउँछन् ।

नागरिकता नै नहुँदा अनेक समस्या रहेको सरावल गाउँपालिका पूर्वअध्यक्ष राधेश्याम चौधरीको भनाइ छ । ‘नागरिकता नहुँदा बैंकिङ समस्या भइरहेको छ । मानिस स्नाकोत्तर पढेका छन् । तर नागरिकता नहुँदा रोजगारीमा समस्या छ,’ उनी भन्छन्, ‘सामाजिक सुरक्षा भत्ता पनि पाउन सकेका छैनन् । यहाँका मानिसको मनमनमा  नेपाली पन छ । तर प्रमाण छैन ।’ 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार